धनगढी-टीकापुर रुटका चालकको पीडाः पालो पाउन बसपार्कमै रात काट्न बाध्य
धनगढीः धनगढी बसपार्कमा अनौठो नियम रहेको तथ्य फेला परेको छ। धनगढी-टीकपुर रुटमा गाडी चलाउने पालो पाउन राति बसपार्कमै बस्नुपर्ने नियम रहको पाइएको छ। धनगढी- टीकापुर रुटमा चल्ने हायसको पालो पाउन चालक या सह-चालकले राति बसपार्कमै सुत्नुपर्ने नियम रहेको एक जना चालकले बताए।
टीकापुर रुटमा पालो पाउन बिहान पाँच बजे बसपार्कमै रहेको संयुक्त बुकिङ काउन्टरमा लाइन लाग्नुपर्ने बताइएपछि दिनेशखबरकर्मी पनि केही दिन अगाडि बिहान पाँच बजे संयुक्त टिकट काउन्टरमा पुग्दा चालकले गरेको गुनासो सही थियो। पालो पाउन गाडी नम्बर टिपाउन १०/१५ जना व्यक्ति संयुक्त टिकट काउन्ट अगाडि लामबद्ध भएका थिए। उनीहरू मध्ये केही राति बसपार्ककै सुतेका थिए भने केही तीन बजे नै उठेर पालो माग्न गाडीसमेत लिएर आएका थिए।
यातायात व्यवसायीहरूले रुटमा गाडी चलाउने पालो लिन गाडी लिएर बसपार्क आए या नआए पनि धनगढी बसपार्कमा ३३० रुपैयाँ पार्किङ शुल्क तिर्छन् भने चलान वाफत ४५० रुपैयाँ तिर्ने गरेको बताएका छन्। बसपार्कमा प्रवेश शुल्क वाफत हरेक पटक थप ४५० रुपैयाँ तिर्नुपरेको उनीहरूले बताएका छन्।
धनगढीबाट टीकापुर जाने गाडीले चार ठाउँमा पार्किङ शुल्क तिर्नुपर्छ। उनीहरूले धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की र टीकापुरमा पार्किङ शुल्क तिर्नुपरेको बताएका छन्।
धनगढीबाट टीकापुर दैनिक २५ भन्दा बढी हायस चल्ने गरेको व्यवसायीहरूले बताएका छन्। उनीहरू सबैले बिहान ५ बजे संयुक्त बुकिङ काउन्टरमा पुगेर आफ्नो पालो टिपाउनु पर्छ। अन्य रुटमा स्वचालित प्रणाली भए पनि टीकापुरमा भने लाइन लागेर पालो माग्नु परेको व्यवसायीहरूले बताएका छन्।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले भने टीकापुर रुटमा स्वचालित प्रणाली कार्यान्वयन गर्न समस्या भएकाले संयुक्त बुकिङ काउन्टरबाट पालो दिन थालिएको बताए। उनले स्वचालित नम्बर प्रणालीमा बिहानै पालो परेको गाडी चालकले पालोअनुसार गाडी नचलाउने समस्या आएकाले आफ्नो पालो आफैं टिपाउने र सोही अनुसार गाडी चल्ने व्यवस्था मिलाइएको बताए।