क्यान्सरपीडितको सहयोगका लागि मेची–महाकाली साइकल यात्रा हुने
काभ्रेपलाञ्चोक: क्यान्सर रोगीहरूको उपचारमा सहयोग पु¥याउने उद्देश्यले मेची–महाकाली साइकल यात्राको आयोजना हुने भएको छ। पूर्व–पश्चिम मध्यपहाडी राजमार्गअन्तर्गत पाँचथरको चिवाभञ्ज्याडबाट सुरु हुने यो यात्रा बैतडीको झुलाघाटसम्म पुगेर समापन हुनेछ।
आगामी सन् २०२६ जनवरी १ देखि सुरु हुने यो साइकल यात्रा करिब एक महिनासम्म चल्ने बताइएको छ। आज धुलिखेल अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा क्यान्सर रोगसँग संघर्षरत दुई ‘सर्भाइभर’ले यस यात्रामार्फत देशभरका नागरिकमा क्यान्सरबारे सचेतना फैलाउने अठोट व्यक्त गरे।
क्यान्सरबाट निको भएर पुनः समाजका लागि प्रेरणा बनेका साइक्लिस्ट हर्क लामा र स्तन क्यान्सरको तेस्रो चरण पार गर्नुभएकी कविता चित्रकारले यात्राको नेतृत्व गर्ने जनाइएको छ। यस अभियानको संयोजन डा. तारालाल श्रेष्ठले गर्ने भएका छन् भने धुलिखेल अस्पतालका चिकित्सकहरूले यात्रामा स्वास्थ्य तथा चिकित्सकीय सहयोग पु¥याउनेछन्।
नेपालको पूर्वी सीमादेखि पश्चिमी सीमानासम्मको करिब १,००८ किलोमिटर दूरी पार गर्दै यात्रामा सहभागीहरूले विभिन्न स्थानमा क्यान्सर सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्ने योजना बनाइएको छ।
यात्राका क्रममा संकलित मुठ्ठीदान रकम क्यान्सर रोगी सहायता कोष स्थापना गर्न धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने डा. श्रेष्ठले जानकारी दिए।