सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खानेपानीको पाइप फुट्दा सडक भत्किदै 

२०८२ कार्तिक १२, ०१:१६ नारायण अवस्थी

धनगढीः धनगढीको बजार क्षेत्रमा खानेपानीको पाइप फुट्नाले भर्खरै निर्माण भएका सडकमा खाल्टाखुल्टी पर्न थालेका छन्। धनगढी मुख्य सडक, सहिद गेट-क्याम्पस चोक सडक र डिभोटी-चोक लब्ली चोक सडकमा सबैभन्दा धेरै ठाउँमा खानेपानीको पाइप फुटेका छन्। महिनौ अगाडि फुटेका पाइप मर्मत नगर्दा भर्खरै कालोपत्र गरिएको सडकमा खाल्टाखुल्टी पर्न थालेका छन्।

चौराहा- कैलाली पुल सडकमा करिब ६ महिना अगाडि फुटेको पाइप मर्मत नभएको स्थानीय रोशन पन्तले बताए। उनले फुटेको पाइप मर्मत नगरिँदा सडकमा खल्टो पर्दै गएको र सडक सतहमा गाडी चिप्लने जोखिम बढेको बताए। सोही सडककै ज्योति स्कुल जाने बाटो नजिकै फुटेको पाइप निकै पछि मर्मत गरिए पनि परेको खाल्टो पुरेर कालोपत्र गर्ने काम नभएको अर्का स्थानीय नवराज पाण्डेयले बताए।

यसैगरी, सहिद गेट- क्याम्पस चोक सडकको नेपाल पत्रकार महासंघ जाने चोक नजिकै फुटेको खानेपानीको पाइपले सडक भत्किन लागेको देख्न सकिन्छ। यस्तै, डिभोटी चोक लब्ली चोक सडकमा भने करिब ६ ठाउँमा खानेपानीको पाइप फुटेको देख्न सकिन्छ। यी ठाउँमा फुटेको पाइप मर्मत गर्न खानेपानी संस्थानले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन्।

नयाँ सडकमा राखिएको खानेपानीको लाइन सञ्चालन भएन
खानेपानीको पाइप फुटेर सडक भत्किने समस्या हुने भएकाले धनगढीमा निर्माण भएका नयाँ सडक सतह भएर खानेपानी वितरण नगरिने भएको छ। जसका लागि सडक निर्माण गर्दा सडकको दुबै किनारमा खानेपानीको पाइप बिच्छ्याइएको छ। तर ती नयाँ लाइनमा पानी सञ्चालन नगर्दा सडक क्षेत्रमा राखिएको पुरानो लाइनबाट नै पानी वितरण भइरहेको छ। जसले गर्दा पानीको पाइप फुटेर सडक भत्किने क्रम रोकिएको छैन।

जुन-जुन सडकमा खानेपानीको पाइप फुटेर सडक भत्किएको छ ती सडकमा समेत नयाँ पाइप लाइन राखिएको छ। तर कुनै-कुनै स्थानमा काम अधुरै भएकाले पुरानो लाइन बन्द गरेर नयाँमा पानी चलाउन समस्या भएको खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्रकुमार साहले बताए। उनले निर्माण व्यवसायीले काम अधुरै छोडेकाले पानी सञ्चालन गर्न नसकिएको बताए।

कालिका निर्माण कम्पनीले ठेक्का पाएको सडकमा खानेपानीको नयाँ लाइन सञ्चालन गर्न समस्या रहेको प्रमुख साहले बताए। तर यो आर्थिक वर्षमा नयाँ लाइन सञ्चालन र जडानका लागि बजेट आएकाले मंसिरभित्र धनगढीका सबै सडकमा नयाँ खानेपानीको लाइनबाट पानी वितरण थाल्ने उनले बताएका छन्। उनले पाइप फुटेको स्थानमा तुरुन्तै मर्मत गरिने बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस