सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगामी पुसमा बाघ गणना गरिने

२०८२ कार्तिक ११, ०१:०२ रासस

चितवन: आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न तीन साता लाग्ने बताइएको छ । निर्वाचन हुने भएकाले गैँडा गणनाको विषय भने अन्योलमा रहेको छ ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ । बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले रु १८ लाख विनियोजन गरेको छ । यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले रु १८ लाख नै विनियोजन गरेको छ भने गैँडा गणना गर्न रु दुई करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने जनाइएको छ ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरू राखिने गरिन्छ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्छन् । बाघहरूको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछ ।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३ र सन् २०१८ मा पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए ।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो । नेपालमा सन् १९५० को दशकमा करिब ८०० वटा गैँडा रहेको अनुमान गरिएको छ ।

सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ बाट बढेर ३८, र शुक्लाफाँटामा आठबाट बढेर १८ पुगेको देखिएको थियो ।

कमेन्ट लोड गर्नुस