सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निजी क्षेत्रबाट धान खरिद ठप्प

२०८२ कार्तिक १०, ०९:५८ खबर संवाददाता

टीकापुरः किसानहरू धान बेच्न आत्तिइरहेका बेला व्यापारीले धान खरिद बन्द गरेका छन्।

तिहारअघि कैलालीको भजनीमा प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँ, टीकापुरमा दुई हजार ६ सय रुपियाँ, धनगढीमा दुई हजार आठ सय रुपियाँमा धान खरिद भइरहेकोमा तिहारपछि त्यो पनि बन्द भएको छ। किसानले खर्च चलाउन पनि धान बिक्री गर्नुपर्ने बेलामा सस्तोमा खरिदबिक्री भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले सरकारले तोकेको समर्थन मूल्यमा कारोबार गराउन स्थानीय तहलाई पत्राचार गरेको थियो। स्थानीय तहले पनि सूचना निकालेपछि स्थानीय व्यापारी सरकारी दरमा यस वर्ष धान खरिद गर्न नसकिने भन्दै पछाडि हटेका छन्।

टीकापुरका किसान छपिलाल चौधरी धान बेच्न हतार भइसकेकाले स्थानीय व्यापारीलाई पटक पटक सोधिरहेको र खाद्यले कहिले किन्छ भनेर प्रतीक्षा गरिरहेको बताउछन्। कैलालीको टीकापुर, जोशीपुर, भजनीलगायत बजारका व्यापारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काँटा लगाइसकेपछि खरिद गर्ने तयारीमा छन्। जोशीपुरमा खाद्यान्न खरिदबिक्री गर्दै आएका हरि श्रीपाइली कात्तिक १५ पछि मात्रै खरिद सुरु गर्ने बताउछन्। 

गत वर्ष भारतबाट चामलको आयात बढेपछि नेपाली व्यापारीले खरिद गरेका धानचामल उद्योगले किनेको छैन। 'गोदाम रित्तिइसकेको छैन, पोहोर तीन हजार दुई सय रुपियाँ प्रतिक्विन्टल किनेको धान अहिले दुई हजार नौ सयमा मागिरहेका छन्,' भीम खाद्यान्न खरिदबिक्री केन्द्र टीकापुरका सञ्चालक ध्वजबहादुर ठकुल्ला भन्छन्, 'गोदाम व्यवस्थापन खर्च, लगानीको ब्याज बढेको छ तर उद्योगले खरिदभन्दा सस्तोमा मागेपछि कसरी बेच्ने? नयाँ खरिद किन गर्ने?'

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ११ देखि जिल्लाका भजनी, जोशीपुर, टीकापुर, मोहनपुर, चौमालामा धान खरिद गर्ने तयारी गरिरहेको छ। नेपाल सरकारले मोटा धानको समर्थन मूल्य तीन हजार ४८३ रुपियाँ तोकेको छ। गत वर्ष सुदूरपश्चिम (कैलाली र कञ्चनपुर)मा ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको कम्पनीले ३४ हजार ५०२ क्विन्टल मात्रै खरिद गरेको थियो। यस वर्षको कोटा निश्चित हुन बाँकी रहेको प्रादेशिक कार्यालयका प्रमुख दीपक थापाले जानकारी दिए। 

धान खरिदका लागि खाद्यका गोदाम भएका पालिकाका प्रमुखसँग समन्वय गरिसकेको बताउँदै उनले अपुग भए गोदामको व्यवस्था भइसकेको बताए। मापदण्ड अनुसारका धान ल्याउने किसानले बैङ्क खातामा भुक्तानी पाउने र त्यसमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदान पनि थपिने छ। प्रदेश सरकारले खाद्यले खरिद गरेको धानमा अनुदान दिने गरेर यस वर्ष ७० लाख बजेट छुट्याएको छ। प्रादेशिक कार्यालय प्रमुख थापा स्थानीय उद्योग वाणिज्य सङ्घसँग बुझ्दा गत वर्षकै धान नबिकेकाले यस वर्ष धेरै खरिद गर्न नसकिने जवाफ पाएको बताउछन्।    

कमेन्ट लोड गर्नुस