सार्वजनिक यातायात क्षेत्रमा मौलायो बेथितिः चलानी र इन्ट्रीका नाममा रकम असुली
धनगढीः सुदूरपश्चिममा यातायात क्षेत्रमा असुली धन्दा मौलाएको छ। यतायात व्यवसायीले धनगढी र महेन्द्रनगरबाट विभिन्न स्थानका लागि छुट्ने सवारी सधानबाट रकम असुल्ने गरिएको गुनसो गरेका हुन्।
धनगढी बसपार्क र महेन्द्रनगर बसपार्कबाट छुट्ने मध्यम र साना सवारी साधनबाट रकम असुल्ने गिरोह सक्रिय रहेको यातायात व्यवसायीले बताएका छन्। सवारी साधनबाट चलानी, इन्ट्री र 'अख' का नाममा रकम असुली हुने गरेको यातायात व्यवसायीहरूले दाबी गरेका छन्।
धनगढीबाट चल्ने साना तथा मझौला सवारी साधनबाट ट्राफिक चौराहामा चलानी दिँदा एक सय पचास रुपैयाँ बढी असुल्ने गरेको एक जना व्यवासायीले बताए। हायस चलाउने ती व्यवसायीले चलानी वाफत २५० रुपैयाँ लिनुपर्नेमा हरेक दिन ४ सय रूपैयाँ बुझाउँदै आएको बताए। उनले तोकिएभन्दा १५० रुपैयाँ बढी तिर्नुपर्ने बाध्यता रहेको बताए।
धनगढीबाट सावरी छुट्दा विभिन्न यातायात प्रालिले चलानी दिँदा थप रकम असुल्दै आएको दाबी व्यवसायीहरूको छ। रसिद तोकिएको रकमको मात्रै काटेर धनगढी चौराहामा हरेक सावरी साधनबाट बिना रसिद थप १५० रुपैयाँ असुली हुँदै आएको दाबी गरिएको छ।
धनगढीबाट छुटेको गाडीले अत्तरियामा फेरि एक सय रुपैयाँ बुझाउनु पर्छ। त्यहाँ बसेको गिरोहले छोटो रुटमा चल्ने गाडीहरूबाट इन्ट्रीको नाममा रकम असुल्ने गरेको छ। अत्तरियामा हरेक सार्वजनिक सवारी साधानबाट एक सय रुपैयाँका दरले रकम असुली हुने गरेको यातायात व्यवासायी बताउँछन्।
धनगढीबाट टीकापुर र नेपालगन्ज जाने सवारी साधनबाट लम्कीमा एक सय रुपैयाँ उठाइन्छ भने टीकापुर जाने गाडीबाट टीकापुरमा समेत इन्ट्री शुल्क भनेर बिना रसिद हरेक पटक एक सय रुपैयाँ असुल्ने गरिएको बताइएको छ। यसैगरी फर्केर आउँदा पनि टीकापुर, लम्की, अत्तरिया र धनगढी ट्राफिक चौराहामा एक सय रुपैयाँका दरले असुली हुँदै आएको व्यवसायीले बताएका छन्।
हरेक चोक र बजारमा 'अख' भन्दै रकम असुली
धनगढीबाट छोटो दुरीमा चल्ने सवारी साधानबाट 'अख' को नाममा रकम असुल्ने गरिएको छ। हायस तथा माइक्रो बसबाट 'अख' भन्दै रकम असुल्ने गरिन्छ। चोक तथा बजार क्षेत्रबाट यात्रु बसेको देख्नासाथ पैसा माग्न दौडिएर आउने गरेको व्यवासायीले बताएका छन्। तर सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले 'अख' वाफत लिइने रकम नियम संगत नै भएको बताए।
उनले यात्रीको टिकट काटे वाफत काउन्टरमा खटाइएको व्यक्तिले १० प्रतिशत रकम राख्न पाउने व्यवस्था रहेको बताए। 'अख' वाफत लिइने रकमबाट नै काउन्टरमा काम गर्ने व्यक्तिले पारिश्रमिक पाउने बताए।
'अख' वाफत उठाइने रकम बैध भनेको प्रालिले चलानी र इन्ट्रीको नाममा हुने असुलीबारे व्यवसायीहरूबाट भने कुनै गुनासो नआएको बताए। चलानी भन्दै तोकिए भन्दा बढी रकम उठाउन नमिल्ने र इन्ट्री रकम संकलन गर्न कुनै पनि प्रालिले व्यक्ति नखटाएको अध्यक्ष सापकोटाको दाबी छ। अबैध असुली भएको विषयमा व्यवसायीले आफ्नो यातायात प्रालिका गुनासो गर्नुपर्ने उनले बताएका छन्।
यातायात व्यवसायीले भने चलानी र इन्ट्री तथा 'अख' को नाममा यातायात क्षेत्रको गिरोहले दैनिक मोटो रकम संकलन गर्ने गरेको बताएका छन्। धनगढीबाट चल्ने एक हजार दुई सवारी साधन मध्ये दैनिक पाँच सय गाडी छुट्दा र भित्रिँदा इन्ट्री शुल्क भन्दै धनगढी चौराहा, अत्तरिया, र लम्कीमा सक्रिय गिरोहले दैनिक पचास हजार रुपैयाँ असुली गर्दै आएको देखिन्छ। यस्तै चलानी दिँदा एक सय पचास रुपैयाँका दरले गिरोहले दैनिक ७५ हजार रुपैयाँ उठाउँदै आएको पीडित यातायात व्यवसायीहरूको आरोप छ।
कैलाली जिल्लामा मात्रै सार्वजनिक यातायातबाट गिरोहले दैनिक एक लाख २५ हजार असुल्ने गरेको पीडित व्यवसायीहरूले गुनासो गरेका छन्। उनीहरूले यातायात क्षेत्रबाट पट्के रुपमा रकम उठाउनेहरू यातायात प्रालिहरूको संरक्षणमा रहेको दाबी गरेका छन्।