भाइटीकामा नवजीवन अस्पतालको निःशुल्क बस सेवा
धनगढी: भाइटीकाको अवसरमा धनगढीस्थित नवजीवन अस्पतालले धनगढी–अत्तरिया ६ लेन सडकमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
अस्पतालले आफ्नै नर्सिङ कलेजको बस प्रयोग गरी यात्रुहरूको सहज आवागमनका लागि यो सेवा उपलब्ध गराएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खडायतका अनुसार, भाइटीकाको दिन बजारमा सवारीसाधन अभाव हुने भएकाले सर्वसाधारणलाई सहज आवागमनको सुविधा मिलोस् भन्ने उद्देश्यले बस सेवा सञ्चालन गरिएको हो।
बस सेवा गोदावरी नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरिएको बताइएको छ। यसअघि पनि दसैँको समयमा अस्पतालले धनगढी क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।
स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने यस सेवाले सार्वजनिक यातायातको अभावमा यात्रुहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।