धनगढीमा मौलिक देउसी र भैलो भेटाउनै मुस्किल
धनगढी : कैलालीको धनगढीमा मौलिक देउसी र भैलो भेटाउनै मुस्किल परेको छ। धनगढी बजार क्षेत्रमा परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलो भेटाउन मुस्किल परेको हो।
तिहारमा दीप प्रज्वलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। तर, धनगढी बजार क्षेत्रमा मङ्गलवार र बुधवार खोज्दा पनि एक/दुई स्थानमा मौलिक गीत, मादलको ताल र भाकामा खेल्दै रमाइउदै गरेको देउसीको समूह भेटिएका छन्। देउसी र भैलोमा मौलिकता पछिल्ला वर्षयता हराउँदै गएको हो।
तिहार सुरु भएसँगै टोल–टोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन्। तर आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।
देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डिङ हिन्दी गीतहरू, पप, आधुनिक र ¥याप गीत बज्न थालेका छन्। साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ।
यमपञ्चक सुरु भएपछि धनगढी बजारका चोक–चोक तथा पसलहरूमा देउसी, भैलो खेल्नेको भिड छ। तर, उनीहरूले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न। धनगढीका व्यवसायीहरूले देउसी–भैलोका गीतहरूमा मौलिकता नभएको बताएका छन्। उनीहरूले देउसी–भैलोलाई आम्दानीको स्रोत मात्र बनाएको भन्दै आलोचना गरेका हुन्। धनगढीका एक व्यवसायीले भने, “अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन। मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनीको नाच अब कहाँ हेर्न पाउनु ? आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनीहरूको बुझाइ छ। मौलिकता जोगाउने भावना विकास नै नभएनको धनगढीका वृद्धहरूले बताएका छन्। अरूको देखासिकी गर्ने बानीले कैयौँ संस्कृतिहरू लोप हुने खतरामा रहेका उनीहरूले बताएका छन्। मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने सुझाव उनीहरूको छ।
अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी युवाहरूको छ। प्रविधिको विकासले गर्दा नयाँ पुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको उनीहरू बताउँछन्।