धनगढीमा उत्पादित ६० क्विन्टल बढी फूल बिक्री, फूलमालाको अभाव
धनगढीः कैलालीको धनगढीमा उत्पादित ६० क्विन्टल बढी फूल बिक्री भएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका किसानले उत्पादन गरेको फूल पूर्ण रूपमा बिक्री भएको हो।
धनगढीका किसानहरूले यो पटकको तिहारका लागि ९० कट्टा जमिनमा व्यावसायिक पुष्पखेती गरिएको छ। धनगढीमा नौ जना किसानले व्यावसायिक रुपमा उत्पादन गरेको फूल भाइ टीकाको एक दिन अगाडी नै सकिएको छ। धनगढीमा उत्पादन गरिएको फूलको मौजात सकिएपछि अभाव भएको छ। धनगढी उपमहानगरपालिकाको प्रवेशद्वारमा रहेको फूल बिक्री केन्द्रमा बुधवार दिउँसो नै फूल सकिएको हो। धनगढी पुष्प व्यवसायी कृषक समूहमा आबद्ध ८ जना किसानले उत्पादन गरेको ४० क्विन्टल फूल उनीहरुले अ–आफ्नो तरिकाले बिक्री गरेका हुन। धनगढी उपमहानगरपालिका–६ मटियारीमा न्यू बन्डोली नर्सरी कन्सर्नका सञ्चालक शङ्करसिंह बिष्टले २२ कट्ठामा गरिएको फूलखेतीबाट उत्पादन भएको फूल पूर्ण रुपमा बिक्री भएको बताए। उनले भने, ‘समूहका अन्य सदस्यहरुले आफ्नो तरिकाले फूल बिक्री गर्नु भयो। तर, सबैका स्टलहरुको फूल बिक्री भएको छ। कोपिला पनि बिक्री भए। मैले मात्र सात लाखको बिक्री गरे। अरुको जानकारी भएन।’ उनले तिहारमा मात्रै १५ क्विन्टल सयपत्री उत्पादन गरेका हुन।
धनगढी–९ मा १०८ दि डिभाइन एग्रो फार्म सञ्चालन गरिरहेका रोशन साउँदले यो वर्ष २२ कट्ठामा फूल खेती गरेका छन्। उनले तिहारमा २० क्विन्टल फूल बजारमा बिक्री गरेका छन। १६ हजार बढी माला अर्थात् २० क्विन्टल फूल तिहारमा मात्रै बिक्री गरिएको हो। यस्तै, धनगढी–१२ मा आशा पन्त मिश्रले १० कट्ठा तथा कृतिका सिंहले ३ कट्ठामा फूल खेती गरेका छन्। यसैगरी, धनगढी–१३ राजपुरमा गीता बिष्टले ६ कट्ठामा पुष्पखेती गरेकी छन् भने धनगढी–५ तारानगरका बलदेवप्रसाद भट्टले ५ कट्टामा पुष्पखेती गरेका छन्।
धनगढी–४ मा रिता अवस्थीले ६ कट्ठामा फूल खेती गरेकी छन्। धनगढी–८ का जोगेन्द्र सेटीले यो वर्ष ६ कट्टामा फूल खेती गरेका छन्। धनगढीका यी पुष्प व्यवसायी किसानले २०७९ देखि फूल उत्पादन गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिकाले सुरुमै किसानहरूलाई फूल खेती गर्न तालिम दिएको थियो। त्यसपछि किसानहरूलाई सजावट सम्बन्धी तालिम दिएको उपमहानगरले आर्थिक सहयोग समेत गरेको किसान शङ्करसिंह बिष्टले बताए। फूल उत्पादन गर्न किसानहरूलाई कृषि विकास निर्देशनालय डोटीले समेत सहयोग गरेको बिष्टले बताए।