त्रिनगर नाकामा भारत जाने नेपालीको तथ्याङक संकलन गर्ने योजना अलपत्र
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गत वर्षको फागुन ७ गते कैलालीको त्रिनगर नाकामा स्थापना भएको सिमा सहायता कक्षको उद्धघाटन गरे। फागुनमा उद्धघाटन गरिएको सहायता कक्षले बैशाख १ गते देखि भारत जाने सुदूरपश्चिमेलीहरुको तथ्याङक संकलन गर्ने बताईएको थियो।
तर उद्धघाटन भएको करिव ६ महिना पुग्दै लाग्दा पनि कुनै नेपालीको तथ्याङक संकलन हुन नसकेको सिमा सहायता कक्षका नायव सुव्वा लालबहादुर धामीले बताए। उनले प्रदेश सरकारले विवरण संकलन गर्नको लागि रजिष्टर समेत राख्न नसकेको बताए।
‘आफँै किनेर एउटा रजिष्टर राखेको थिए,’ उनले भने, ‘मन्त्रालयले कुनै व्यवस्थापन गर्न नसकेपछि अहिले उक्त योजना अलपत्र परेको छ।’ अहिले सुदूरपश्चिम प्रदेश बाट मात्रै रोजगारीका लागि लाखौं नागरिकहरु भारत जाने गरेको बताईदै आएपनि एकिन तथ्याङक भने कुनै निकाय संग छैन्।
यो समस्यालाई समाधान गर्ने भन्दै स्थापना गरिएको सहायता कक्ष काम विहिन भएको हो। विवरण संकलन गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको सहायता कक्षले काम गर्न नसकेपछि प्रदेश सरकार भने विभिन्न कारण देखाउदै पन्छिरहेको छ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी प्रशाद जोशीले भने कर्मचारी संगै अन्य व्यवस्थापनमा समस्या देखिएको बताए। त्रिनगरमा स्थापना गरिएको सहायता कक्ष प्रभावकारी रुपमा सञ्चालन हुन नसकेका वेला अन्य नाकामा स्थापना गर्ने योजना अलपत्र परेका छन।
चालु आर्थीक वर्षको निती तथा कार्यक्रममा सहायता कक्ष स्थापन संगै प्रभावकारी रुपमा संञ्चालन गर्ने भनिए पनि बजेट भने विनियोजन भएको छैन्।