सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ९५ मा ७० किलोमिटर हुलाकी राजमार्ग स्तरोन्नतिको काम सकियो

फाइल फोटो
फाइल फोटो
२०८२ कार्तिक ३, ०२:४८ खबर संवाददाता

धनगढी : कैलालीमा आधाभन्दा बढी हुलाकी राजमार्ग स्तरोन्नतिको काम सकिएको छ।

कुल हुलाकी राजमार्गको लम्बाइ ९५ दशमलव ७ किलोमिटर रहेको यो जिल्लामा करिब ७० किलोमिटर स्तरोन्नतिको काम सकिएको हो।

आर्थिक वर्ष २०७७/७८ बाट हुलाकी राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ। जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेन हुने गरी कालोपत्रे गर्ने कार्य जारी रहेको छ।

पूर्वपश्चिम जोड्ने सत्ती–भजनी–धनगढी हुलाकी राजमार्ग ६६ किलोमिटर रहेकोमा हालसम्म ५२ किलोमिटरमा काम पूरा भएको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ । यो खण्डको हसुलियादेखि कटैनी पुलसम्मको सातौँ र भजनीको ठेकीपुर पुलदेखि आठौँ प्याकेजमा काम बाँकी रहेको छ। हसुलियादेखि कटैनीसम्म दुई किलोमिटरमा ब्ल्याकटप र सबबेसको काम भइरहेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर गणेशबहादुर बुढाले बताए। यो खण्डमा स्वच्छन्द जेभीले काम गरिरहेको छ ।

ठेकीपुरदेखिको खण्डमा ब्ल्याकटपको काम बाँकी रहेको छ। कालिका–जोशी जेभीले यस खण्डमा ठेक्का पाएको छ। यसै गरी उत्तर–दक्षिण जोड्ने लम्की–टीकापुर–खक्रौला २९ दशमलव ७ किलोमिटर हुलाकी राजमार्गमा आधाभन्दा बढी स्तरोन्नतिको काम सकिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालयका अनुसार हालसम्म १७ दशमलव ५ किलोमिटरमा कालोपत्रेको काम भइसकेको छ। अन्तिम प्याकेजमा काम भइरहेको जनाएको छ । यस वर्ष हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य पूरा हुने बुढाले बताए।

चालु आर्थिक वर्षमा हुलाकी राजमार्गका लागि ४० करोड बजेट आएको छ। यस वर्ष काम गर्नका लागि बजेटको समस्या नरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले बताएको छ।

 

कमेन्ट लोड गर्नुस