सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

२०८२ कार्तिक २, ०१:३४ रासस

काठमाडौँःआगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पर्यावरणमैत्री अर्थात् हरित् निर्वाचनका रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीनितिक दलहरूसँग आग्रह गरेको छ।आयोगले आधुनिक समयमा पर्चा, पम्पप्लेट र प्रदूषणमुक्त निर्वाचन गराई हरित निर्वाचन (ग्रीन इलेक्सन) समयसापेक्ष हुने भन्दै यसका लागि आग्रह गर्दै राजनीतिक दलबाट सहयोग र सुझाव माग गरेको हो। 

गत असोज ३० गते आयोगमा भएको राजनीतिक दलसँगको छलफलमा पनि प्रस्ताव गरिएको थियो। आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जैविक रूपले नष्ट नहुने वा वातावरणमा हानि पु¥याउने कागज, प्लाष्टिक, इन्धनजस्ता सामग्रीको न्यूनतम् प्रयोग गर्दै डिजिटल, दिगो र प्रदूषणमुक्त माध्यमबाट सम्पन्न गरिने निर्वाचनलाई ‘हरित निर्वाचन’ भनेर बुझ्नुपर्ने बताए।छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरूले उचित वातावरण बनेमा आफूहरूले निर्वाचनमा भाग लिने र निर्वाचनलाई पर्यावरणमैत्री बनाउने सवालमा सकारात्मक रहेको बताएका थिए। आयोगले पर्यावरणमैत्री निर्वाचनका लागि विसं २०७९ को निर्वाचनमा पनि पहल गरेको थियो।

कमेन्ट लोड गर्नुस