सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भत्तामा भ्रष्टाचार, वडाध्यक्षसहित आठ जना विरुद्ध मुद्दा

२०८२ कार्तिक १, ०२:१३ खबर संवाददाता

धनगढी : कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैँले औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ। अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेम बहादुर बुढा र कार्यालय सहयोगी सोनम कठरीया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरूको हकमा समेत आफैँ औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ।

वडा सचिवले दाहिने हातको बुढी औँलाको औँठा छाप २८० र माझी औँलाको औँठाछाप १९९ गरेर ४७९ थान औँठाछाप लगाएको, कार्यालय सहयोगी कठरीयाले दायाँ औलाको औँठाछाप २०४ थानमा लगाएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको उल्लेख छ।

नवीकरण गर्न नआएको व्यक्तिको हकमा झुट्टा विवरण बनाएर बजेट निकासा गरिएको दाबी छ। मृत्यु दर्ता भइसकेका व्यक्तिको नाममा मात्र सामाजिक सुरक्षा भत्ता बाफत १५ लाख ५० हजार रुपैयाँ बुझेको उल्लेख छ।

यो प्रकरणमा वडा सदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्ट समेतलाई प्रतिवादी बनाइएको छ। उनीहरू मध्ये वडाध्यक्ष, वडा सचिव, तत्कालीन खरिदार र कार्यालय सहयोगीसँग बिगो माग दाबी गरिएको छ।

 

कमेन्ट लोड गर्नुस