सुदूर नेपाललाई विश्वसँग जोड्दै

असुरक्षित बन्दै कैलालीः चार दिनको अन्तरमा तीन जघन्य अपराधका घटना 

२०८२ कार्तिक १, ११:४६ नारायण अवस्थी

धनगढीः छिमेकमै बस्ने दुई जना युवाले रातिको समयमा घरमै पुगेर ज्यान मार्ने धम्की दिएपछि भागेका गोदावरी–१० खमौरा, शिविर टोलका ३५ वर्षीय शेरबहादुर चौधरी असोज २४ गते मृत फेला परे। चौधरीको घरभन्दा थोरै टाढा बस्ने लोकेन्द्र मल्ल (लक्की) र उनका भाइ विकास मल्लले असोज २३ गते राति २ बजे ढोकामा लात्ताले हान्दै शेरबहादुर र उनका भाइलाई मार्ने धम्की दिएका थिए। मारिने डरले घरको पछाडिको ढोकाबाट भागेका चौधरीको शव ओलानी र गोदावरी नदीको दोभानमा दोस्रो दिन भेटियो।

प्रहरीका अनुसार घटना अत्तरियास्थित एक डान्स बारमा सुरु भएको थियो। त्यहाँ मृतकका भाइ रमेश चौधरी, लक्की र विकासबीच झगडा भएको थियो। त्यसपछि राति लक्की र विकास शेरबहादुरकै घर पुगेका थिए। ढोका फुटाउँदै लक्की र विकासले ज्यान मार्ने धम्की दिएपछि ज्यान जोगाउन शेरबहादुर भागेको चौधरी परिवारको दाबी छ।  शव फेला परेपछि लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा आफन्तले लक्की र विकास विरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।

असोज २४ गते राति करिब ११ बजे जिल्लाको घोडाघोडी–८ जरैका केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरी उनको टाउको झोलामा बोकेर दुई युवक प्रहरी चौकी पुगे। स्थानीय १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले केशरसिंहको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरी अनुसन्धानले मृतक बुढाले बलबहादुर र गङ्गा बुढा क्षेत्रीसँगै मदिरा सेवन गरेका थिए। त्यसपछि आपसमा विवाद हुँदा बलबहादुर विक र गङ्गा बुढा क्षेत्रीले केशरबहादुरको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

शेरबहादुर चौधरीले र केशरसिंह बुढाको हत्या घटना सेलाउन नपाउँदै असोज २६ गते राति गोदावरी-४ मा हत्या प्रयासको अर्को घटना घट्यो। घटनामा डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐर चक्कु प्रहारबाट गम्भीर घाइते भए। उनीमाथि गोदावरी नगरपालिका–४ मा रहेको शुभम होटलमा चक्कु प्रहार भएको थियो। ऐरलाई १५ जना युवाको समूहले धारिलो हतियार प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न भनिएका १५ जना विरुद्ध किटानी जाहेरी परेको छ। प्रहरीले १३ जनालाई पक्राउसमेत गरेको छ।

चार दिनको अन्तरमा घटेका यी तीन प्रतिनिधि घटना हुन्। कैलाली जिल्लामा अपराधका घटनामा वृद्धि भएको प्रहरी तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले कैलालीमा जघन्य अपराधमा बढोत्तरी भइरहेको देखाएको छ।

बढ्दै अपराधिक घटनाको ग्राफ
प्रहरीको तथ्याङ्कले कैलालीमा आर्थिक वर्ष ०८०/८१ मा कर्तव्य ज्यानका ११, ज्यान मार्ने उद्योगका २६, आत्महत्या दुरुत्साहनका २३, चोरी डकैतीका ८३, लागू औषधका ३१५, संगठित अपराधका २, सार्वजनिक अपराधका ३५१, र अभद्र व्यवहारका ३२ घटना दर्ता भएका छन्।
यस्तै मानव बेचबिखन तथा ओसारपसारतर्फ ३, जबरजस्ती करणीका ८७, करणी उद्योगका १८, वैवाहिक करणीका २, बाल यौन दुरुपयोगका १०, अपहरण तथा शरीर बन्धक, ज्यान बेपत्ता पारेको, तेजाब तथा रासायनिक पदार्थको प्रयोग गरेको १/१ र साइबर अपराधका ७ घटना दर्ता भएका छन्।

यसैगरी आर्थिक वर्ष ०८१/८२ मा कर्तव्य ज्यानका १५, ज्यान मार्ने उद्योगका ३९, आत्महत्या दुरुत्साहनका १८, चोरीका ७३, लागू औषधका ४६९, संगठित अपराधका ६, सार्वजनिक अपराधका २०३, जातीय छुवाछूतका ६, मानव बेचबिखन तथा ओसारपसारका ९ र जबरजस्ती करणीका ८७ घटना दर्ता भएका छन्। यस्तै करणी उद्योगका २६, वैवाहिक करणीका २, बाल यौन दुरुपयोगका ८, अपहरण तथा शरीर बन्धकका ३ र साइबर अपराधका ३ घटना दर्ता भएका छन्।

आर्थिक वर्ष ०८२/८३ को तीन महिनामै कर्तव्य ज्यानका ८ घटना दर्ता भएका छन् । अन्य वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यो वर्ष बढी अपराधिक घटना घटेको देखिएको छ। यो वर्ष अहिलेसम्म ज्यान मार्ने उद्योगका ८, चोरीका ९, ठगीका ७, लागू औषधका ६४ घटना दर्ता भएका छन्। सार्वजनिक अपराधका १९, मानव बेचविखन तथा जबरजस्ती करणीका २२, करणी उद्योगका ३ र विद्युतीय कसुर तथा साइबर अपराधका एक घटना दर्ता छन्।

कैलालीमा भइरहेका हालका आपराधिक घटना आफन्त र साथीभाइबाटै भएको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक नरेन्द्रबहादुर चन्दले बताए। आफन्तसँगको मनमुटाव, सानोतिनो झैझगडाले ठूलो रुप लिँदा ज्यान लिनेसम्मका घटना भएको एसपी चन्द बताउँछन्। मदिरा सेवन घटना घट्नुको प्रमुख कारण रहेको उनको बुझाइ छ।  'अधिकांश घटना चिनजानका मान्छेबाटै भएको देखिन्छन्। सामान्य मनमुटावबाट घटना बढेको देखिन्छन्,' उनले भने, 'मदिरा सेवन घटनाको प्रमुख कारण रहेको पाइएको छ। एउटा अपराधिक घटनामा धेरै व्यक्तिको संलग्नता देखिन्छ। अपराधिक समूहहरूको पहिचान गर्ने र नियन्त्रण गर्न प्रहरी दृढ छ।'
 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस