कैलालीमा २२ दिनमा एक हजार एक सय ३७ मतदाता थपिए
धनगढी : कैलालीमा एक हजार एक सय ३७ जना नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले असोज १० गतेदेखि मतदाता नामावलीमा नाम दर्ताको प्रक्रिया थालेको हो। कैलालीमा २२ दिनको अवधिमा एक हजार एक सय ३७ जना नयाँ मतदाता थपिएका हुन्।
प्रदेश निर्वाचन कार्यालय, धनगढीले कैलालीमा शुक्रवारसम्म एक हजार एक सय ३७ नयाँ मतदाता थप भएका बताएको छ। तर, ७७ वटै जिल्लाबाट मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने भएकाले सङ्ख्या बढी पनि हुन सक्ने अनुमान गरिएको छ। शुक्रवार दिउँसोसम्म दुइ सय ५० जनाले ठाउँ सारेका छन्।
प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले ७७ वटै जिल्लाबाट नाम दर्ता गर्न पाउने व्यवस्था रहेको बताएका छन्। निर्वाचन आयोगले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदाता नामावलीमा नाम दर्ता, बायोमेट्रिक तथा ठाउँ सच्याउने काम गर्दै आएको छ। कात्तिक ३१ गतेसम्म निर्वाचन आयोगले नामा दर्ताको काम गर्ने छ। ठाउँ सार्न चाहेकाहरूले अनलाइनबाट पनि काम गर्न सक्ने छन्। कैलालीमा सात हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान गरिएको छ। कैलालीमा पाँच लाख ३७ हजार मतदाता रहेका थिए।
प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख भट्टले नयाँ मतदाता नामावली दर्तासँगै अन्य तयारीका काम पनि जारी रहेका बताएका छन्। मतदान केन्द्रको अवस्था जस्तै खानेपानी, बिजुली, बाटो लगायतका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए। स्थानीय सरकारसँगको सहकार्यमा निर्वाचन क्षेत्रहरूको अवस्था बुझ्न थालेको हो। टीकापुर र लम्की क्षेत्रका निर्वाचन केन्द्रहरूमा पुगेको उनले बताएका छन्। कैलालीमा हाल छ सय २९ वटा मदान केन्द्रहरू रहेका छन्।
निर्वाचन सामाग्रीसमेत तयारी अवस्थामा राख्न निर्देशन भएकाले सोही अनुसारको काम थालिएको छ। प्रदेश निर्वाचन कार्यालयमा रहेको सामाग्रीहरूको अद्यावधिक तथा अवस्ताका बारेमा केन्द्रलाई जानकारी पठाउने तयारी गरिएको हो।
सुदूरपश्चिम प्रदेशमा १६ लाख मतदाता रहेका थिए। प्रदेशमा १२ हजारसम्म नयाँ मतदाता थप हुन सक्ने अनुमान आयोगले गरेको छ।