सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमामा पटक–पटक तस्करी गर्ने धनगढीका २ महिला सशस्त्रको फन्दामा

२०८२ असोज ३१, ०४:०८ कमल सावद

धनगढीः नेपाल–भारत सीमा क्षेत्रमा पटक–पटक तस्करी गर्दै आएकी २ महिला सशस्त्र प्रहरीको फन्दामा परेका छन।

धनगढी उपमहानगरपालिका–८ की हस्मिता चौधरी र शान्ति बोहरालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

चौधरीले त्रिवेणी घाट हुँदै दैनिक करिब २० लाख रुपैयाँ बराबरको समान भारतबाट नेपाल भित्र्याउने गरेकी सशस्त्र प्रहरीको दाबी छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेटक्वाटर, कैलालीले चौधरी र बोहरालाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा पेस गरेको छ। उनको तस्करीको सामान पछिल्लो एक साताभित्र मात्रै तीन पटक सशस्त्र प्रहरीको फन्दामा परेको बताइएको छ। सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३४ गण हेटक्वाटर, कैलालीका प्रवक्ता वीरेन्द्र ऐरले उनीहरूलाई भन्सार कार्यालय, कैलालीमा पेस गरिएको बताए।

असोज २२ गते सशस्त्र प्रहरीले चौधरीले ल्याउँदै गरेको करिब २ लाख ४८ हजार बराबरको कपडा, कस्मेटिक र तिहारका सामग्री बरामद गरेको थियो। तर, उनी फरार भएको दाबी सशस्त्र प्रहरीको छ। त्यसपछि असोज २४ गते पुनः नौ लाख ६ हजार बराबरको मोबाइल उपकरण बरामद भए पनि उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएन। तर असोज २८ गते करिब २ लाख १३ हजार बराबरको इलेक्ट्रिक सामग्रीसहित सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएर कैलाली भन्सार कार्यालय, त्रिनगरमा पेस गरेको हो।

कैलाली भन्सार कार्यालयले उनीहरूलाई बिहिवार धरौटीमा छोडेको छ। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेम प्रसाद अर्यालले उनीहरुलाई चार लाख २६ हजार धरौटीमा छोडेको बताए। रिहा भएपछि उनले सामाजिक सञ्जाल र केही मिडियामार्फत सशस्त्र प्रहरीमाथि थोरै सामान ल्याउँदा पनि बढी मूल्याङ्कन गरेर फसाइएको आरोप लगाएकी छन्। भन्सार कार्यालयका सूचना अधिकारी अर्यालले सामानको मूल्याङ्कन कानुनी प्रक्रिया र प्रमाणका आधारमा गरिएको बताए।

सशस्त्र प्रहरी र कैलाली भन्सार कार्यालयले उनीहरूले तस्करी गरेको सामान कस्को थियो भन्ने बारेमा उल्लेख गरेको छैन। उनीहरू धरौटीमा मात्र छुटेकाले अनुसन्धान जारी रहेको कैलाली भन्सार कार्यालयले बताएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस