कैलाली-कञ्चनपुरका मुक्त कमलरी हस्तकलाको सामान बिक्री गरेर कमाउँदै
धनगढीः कैलालीको टीकापुर नगरपालिका बाघमाराकी मुक्त कमलरी पवित्रा चौधरीले हस्तकलाको सामग्री उत्पादन गर्दै आएको एक वर्ष भयो। काँस र मुँजबाट उहाँले डेलुवा, ढकिया, गमला, हट्केस लगायतका सामग्री बनाउँदै आउनु भएको छ।
पवित्राले बनाएका सामग्री बिक्री गर्न कतै जानू पर्दैन। मान्छेहरु उहाँलाई खोज्दै आउने गर्दछन्। घरबाटै हस्तकलाका उत्पादन बिक्री भइरहेको छ। 'यसले घर खर्च चलाउन सहज भएको छ', उनले भनिन्, 'पवित्राले उत्पादन गरेको हस्तकलाका सामान १२० रुपियाँदेखि छ हजारसम्मको रहेको छ। थारु समुदायको विवाह लगायत विभिन्न शुभकार्यमा प्रयोग हुने डेलुवा सबैभन्दा बढी छ हजार रुपियाँमा बिक्री हुने गरेको छ। अरुको घरमा कमलरी बसेर काम गरेकी पवित्राले विगत सम्झिदै भनिन्, 'पहिले दुःख थियो। अहिले सजिलो छ।'
कञ्चनपुरको वेदकोट नगरपालिका–५ बिचमफाँटाकी मुक्त कमलरी ललिता चौधरी रानाले पनि हातले बनाएको सामग्री एक वर्षदेखि बेचबिखन गरिरहनू भएको छ। स्थानीयस्तरमै पाइने काँस, मुँजबाट उनले पनि विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनु भएको हो। ललिताले उत्पादन गरेको सामग्री किन्न मान्छेहरु उनकै घरमा आउने गरेका छन्।
'आफ्नो उत्पादन बिक्री गर्नका लागि पसलै थाप्नु परेको छैन', उनले भनिन्, 'सामान आवश्यक परेकाहरु मेरो घरमै आएर किनेर लैजान्छन्।' हस्तकलाका विभिन्न सामग्री बनाउनका लागि सिकेको सीपले कमलरीपछिको जीवनलाई माथि उकास्न सहज बनाएको उनको भनाइ छ।
पवित्रा र ललिताजस्तै कैलाली, कञ्चनपुरका सात जना मुक्त कमलरीले हस्तकलाको व्यापार घरबाटै गरिरहेका छन्। तालिम लिएर उनीहरुले हस्तकलाको सामग्री बनाउने काम गर्नुका साथै घरबाटै त्यसको व्यापार थालेका हुन। यस कार्यले उनीहरुलाई आर्थिक रुपमा केही राहत भइरहेको छ।
हस्तकलाको सामग्रीको व्यापार राम्रै रहेको कैलारी गाउँपालिका–४ के गाउँकी रुपा चौधरीले बताईन। 'धेरै उत्पादन गर्न सकेमा मिहिनेत खेर जाँदैन', उनले भनिन्, 'यस्ता सामग्रीको व्यापार ठिकै लाग्यो।' आफूले हस्तकलाको सामग्री बिक्री गरेर क्याम्पस खर्च जुटाइ रहेको रुपाको भनाइ छ। फूलबारी बहुमुखी क्याम्पसमा अध्ययनरत उनले एक निजी विद्यालयमा पढाउने काम पनि गर्दै आउनु भएको छ। अध्ययन र शिक्षणको काम गरेर बचेको समयमा हस्तकलाको सामग्री बनाउने गरेको रुपाले बताइन।
कमलरीहरुको सवालमा पैरवी गर्दै आएको मुक्त कमलरी विकास मञ्चले उनीहरुलाई तालिम दिएको थियो। तालिम लिएर केहीले व्यावसायिक रुपमा हस्तकलाको सामग्री उत्पादन र बिक्री वितरण गर्ने कार्य गरिरहेको मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामोती कुमारी चौधरीले बताउनुभयो। हाते बुनाइ तथा सिप विकास जस्ता तालिमले मुक्त कमलरीको जीविकोपार्जनमा सहयोग भइरहेको उनको भनाइ छ।