कैलालीको गोदावरीका चौधरी मृत्यु प्रकरणः घरमै आएर मार्ने धम्की दिने दाजुभाइ पक्राउ
धनगढीः कैलालीको गोदावरी नगरपालिका- १० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरीलाई छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राति २ बजे घरको ढोकामा हान्दै मार्ने धम्की दिएका थिए।
मध्यरातमा घरमै आएर मार्ने भन्दै धम्की दिँदै ढोका तोड्न थालेपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए। लोकेन्द्र र विकासको धम्की सुनेर राति २ बजे नै घरको पछाडिको ढोकाबाट भागेका शेरबहादुर असोज २४ गते घर नजिककै खोलामा मृत फेला परेका हुन्।
राति घरभित्रै मारिने डरले भागेका शेर बहादुरको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए।
डिएसपी चन्दका अनुसार मृतकका भाइ रमेश चौधरी लक्की र विकासले २३ गते साँझ मल्लको घरमा खानपिन गरेका थिए। खानपिन गरेर उनीहरू अत्तरियाको एक डान्स बारमा आएका थिए। त्यहाँ रमेश र मल्ला भाइहरूको विवाद भएपछि शेर बहादुर आफ्नो भाइलाई लिएर घर गएका थिए। डान्स बारमा लोकेन्द्र र विकासले आफूलाई कुटेको रमेशले आफ्ना दाजु शेरबहादुरलाई बताएपछि छिमेकी नवराज भट्टसँग मृतक शेरबहादुर डान्सबारमा पुगेका थिए। उनले आफ्नो भाइकालाई कुटेको भन्दै लक्की र विकासलाई एक दुई मुक्का हानेका थिए।
मृतक चौधरीबाट मुक्का खाएका मल्ल दाजुभाइ राति शेरबहादुरको घरमा पुगेका थिए। लक्की र विकासले लाठीले हानेर शेरबहादुरको घरको अगाडिको ढोका फुटाएपछि शेरबहादुर भागेका थिए। घरबाट भागेपछि बेपत्ता भएका शेरबहादुरको शव दोस्रो दिन फेला परेको हो।
मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की र विकासले नै शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन्।
मृतकका आफन्तले शेरबहादुर घरबाट भाग्ने बित्तिकै मल्ल दाजुभाइले पिछा गरेर ज्यान लिएर खोलामा फालेको दाबी गरेका छन्।। उनीहरूले हत्या गर्ने मल्ल दाजुभाइलाई कडा कारबाही हुनु पर्ने माग समेत गरेका छन्।
लक्की र विकासले शेरबहादुरको घरमा ज्यान लिने धम्की दिएर साँझ मृतक चौधरीसँगै अत्तरिया पुगेका नवराज भट्टको घरमा पुगेर होहल्ला गर्न थालेपछि प्रहरीलाई खबर गरिएको थियो। र, सोही समयमा दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा राखिएको डिएसपी चन्दले बताए।
डिएसपी चन्दले घटनाको अनुसन्धान जारी रहेको बताउँदै पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको बताए। उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी खुल्ने बताए।