नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋण दिने
नेपाल राष्ट्र बैंकले एक वर्षको लागि विभिन्न बैंक तथा वित्तीय संस्थालाई ऋण दिने भएको छ। राष्ट्र बैंकले बुधबार सूचना निकालेर ३–३ महिनामा ब्याज लिने गरी ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा ऋण लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकले आउँदो भदौ १ गतेदेखि २०७७ सालको साउन ३२ गतेसम्मको लागि मुद्दती निक्षेपमा ऋण लगानी गर्न लागेको जनाएको छ।
सूचना अनुसार ‘क’ वर्गका बैंकले २१ करोड ७७ लाख रुपैयाँसम्म, ‘ख’ वर्गका बैंकले ४ करोड र ‘ग’ वर्गका वित्तीय संस्थाले १ करोड ३५ लाख रुपैयाँसम्म ऋण पाउने राष्ट्र बैंकले जनाएको छ। ऋण लिने बैंक तथा वित्तीय संस्थाले ३–३ महिनामा ब्याज भुक्तानी गर्नुपर्नेछ। आफूले चाहेको रकम र ब्याजदरसमेत खुलाएर आउँदो साउन १९ गतेभित्र आवेदन दिन पनि राष्ट्रबैंकले अनुरोध गरेको छ।
राष्ट्रबैंकले रकम लिन चाहने बैंक तथा वित्तिय संस्थाको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, बैंकबाट तोकिएको न्यूनतम पूँजी कोष कायम रहेको, निष्क्रिय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्योभन्दा बढी रहेको, कर्जारस्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको) मा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको, बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको लगायतका शर्तहरु राखेको छ।