उदयपुरमा गाडी बग्दा एकको मृत्यु, २१ को सकुशल उद्दार
उदयपुरः उदयपुरको बेलका नगरपालिका–४ स्थित लालबजार नजिकैको अमन खोलाले एक हायस गाडी बगाउँदा २१ जनाको उद्धार भएको छ भने एकजना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति १२ बजे मोरङको विराटनगरबाट काडमाडौंका लागि हिँडेको बा ४ ख १६२८ को हायस गाडी सिन्धुलीको भिमानबाट फर्कने क्रममा उदयपुरको बेलकास्थित लालबजार नजिकैको अमन खोलाको कजवेमा बाढीले बगाएको हो।
गाडीमा सवार २२ जनामध्ये इलाका प्रहरी कार्यालय बेलका र जिल्ला प्रहरी कार्यालयको टोलीले २१ जनाको उद्धार गरेको थियो भने एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए।
बाढीले बगाएको एक जनालाई खोजी गर्ने क्रममा आइतवार बिहान इलाका प्रहरी कार्यालय बेलकाको टोलीले बगाएको स्थानभन्दा डेढ किलोमिटर तल गिदेरी खोला नजिकै शव फेला पारेको इप्रकाका प्रमुख मौसम उदासले बताए। मृतक मोरङको सुन्दरहरैचा नगरपालिका बस्ने वर्ष ४० की मञ्जु अधिकारी रहेको प्रहरीले जनाएको छ ।