सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नगरपालिकास्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी

२०८२ असोज १८, ०७:३२ खबर संवाददाता

धनगढीः स्वास्थ्य संस्थाहरुबाट निस्कने जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि धनगढीमा नगरपालिकास्तरीय साझा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको छ।

‘हेकाफ ३६०’ नामको संस्थाको प्रविधिक सहयोगमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा उक्त फोहोर व्यवस्थापन केन्द्र सञ्चालनको तयारी गरिएको हो। उपमहानगरपालिका कार्यालयका वातावरण इन्जिनियर अशोक अवस्थीले ‘हेकाफ ३६०’ नामको संस्थाले उक्त फोहोर व्यवस्थापनका लागि कर्मचारीको क्षमता अभिवृद्धिका साथै उपकरणको सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी केही दिनमा यो केन्द्र सञ्चालनमा आउन लागेको छ, यसबाट जोखिमयुक्त फोहोरको पनि व्यवस्थापन हुनेछ।” 

उपमहानगरपालिकाको ६० लाखको लागतमा निर्माण गरिएको सो केन्द्रमा सबै स्वास्थ्य संस्थाहरुबाट सङ्कलन गरिने जोखिमयुक्त फोहोरलाई फोहोर व्यवस्थापन केन्द्रमा ल्याएर ‘अटो क्लेभ’ मेसिन प्रयोग गरी उच्च तापक्रम र उच्च प्रेसर (चाप)मा राखेर जीवाणु नष्ट गर्ने प्रक्रिया अपनाइन्छ। त्यसपछि मात्र फोहोरको वर्गीकरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । यसअन्तर्गत स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दा उत्पादन हुने फोहर स्रोतमै छुट्याउने प्रणालीको विकास गर्न लागिएको छ।  

एक वित्तीय विश्लेषण अध्ययनले स्वास्थ्य संस्थाको एक किलो जोखिमयुक्त फोहोर व्यवस्थापनका लागि ४३ देखि रु ५८ सम्म सेवा शुल्क पर्न आउने देखिएको बताइन्छ। धनगढी उपमहानगरपालिका कार्यालयले उपमहानगर क्षेत्रमा दैनिक हुने कुहिने र नकुहिने फोहरलाई ठेक्कामार्फत सङ्कलन गरेर व्यवस्थापन गरिरहेको भए पनि स्वास्थ्यसंस्थामा सङ्कलन हुने जोखिमयुक्त फोहोर व्यवस्थापनमा भने चुनौती देखिन थालेको अवस्थामा यो केन्द्र सञ्चालनसँगै जोखिमयुक्त फोहोरको पनि सहज व्यवस्थापन हुने अपेक्षा गरिएको छ । १९ वडा रहेको धनगढी उपमहानगरपालिकाका कतिपय ग्रामीण क्षेत्रका वडामा भने फोहोर व्यवस्थापनका साथै स्तरीय सडक र स्वच्छ खानेपानीलगायत पूर्वाधार अझै जुट्न सकेको छैन।

कमेन्ट लोड गर्नुस