सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका थारू गाउँमा सखिया नाचको रौनक

२०८२ असोज १६, ०४:२० खबर संवाददाता

धनगढी : कैलाली र कञ्चनपुरको थारू बस्ती पौराणिक सखिया नाचले गुल्जार बनेको छ। हरेक चाडपर्वमा फरक–फरक किसिमको नाचगान गर्ने थारू समुदाय दसैँमा सखिया नाच गरिरहेका हुन्।

बुधवार पिटरहुवाको दिन विभिन्न गाउँ, टोलमा सखिया नाच भइरहेका छन्। यसैगरी, झुमरा नाच पनि देखाउने कार्य भइरहेको छ। यो समुदायमा विशेष गरेर दसैँ, दीपावलीमा सखिया, झुमरा नाच नाच्ने चलन छ। दसैँको हप्तादिन अगाडिबाटै गाउँघरमा सखिया नाच भइरहेको कैलारी गाउँपालिका –६ धर्मापुर कुलराज चौधरीले बताए।

सखिया नाचले गाउँघरमा दसैँको हर्षोल्लास बढेको उहाँको भनाइ छ। त्यस्तै, कञ्चनपुरको विभिन्न गाउँ सखिया नाचमय रहेको बेलौरीका किसन गमुवाले बताए। उनले भने, “हाम्रो यता लगभग सबै गाउँ सखिया नाचमय छ।”

सखिया दसैँ, तिहारको अवसरमा थारू समुदायका महिलाले सामूहिक रूपमा नाच्ने परम्परागत नृत्य हो। सबैले एकैनासको मौलिक पहिरन लगाएर यो नाच देखाउने गरेको जनाइएको छ। मादल बजाउने ‘मदरिया’को निर्देशन र मादलको ताल (खोट) अनुसार उनीहरूले विभिन्न तरिकाको नाच देखाउने गरेको बताइन्।

साथी सङ्गीहरू मिलेर सामूहिक रूपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिन्छ । थारू समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन्। सखी अर्थात् साथीहरू मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो। सखिया नाच थारु समुदायको मौलिक लोकनृत्य रहेको धनगढी उपमहानगरपालिका –५ जाइँका भलमन्सा कुलवीर चौधरीले बताए।

उनले दसैँ आउनुभन्दा अगाडि जस्तोसुकै पहिरनमा सखिया नाच देखाउने गरे पनि दसैँमा थारू पहिरन लगाएर सखिया नाच देखाउने गरिएको बताए।

 

कमेन्ट लोड गर्नुस