हामी दशैंलाई खोज्छौँ कि दशैं हामीलाई खोज्छ?
जीवनप्रसाद अवस्थीः उहीँ मौसम, उहीँ धर्ती, उहीँ आकाश, उहीँ चन्द्रमा, आश्विनको चिसो बतास पनि उस्तै। चारैतिर चिरवीर–चिरवीर गर्दै रंगीचंगी चराहरु, कोइलीको मधुरो धुन पनि सुनिन्छ। तर त्यो बतासले ल्याउने दशैंको महक, चराहरुको आवाजमा आएको फरक, कागको रुखो बोलीले सिथिलता थपिदिएको छ। मौन र परिवर्तनको संकेत देखिए जस्तो लाग्छ।
बाल्यकालमा यही महकले मनमा जुन निश्चल खुसी र उत्साह भरिदिन्थ्यो, आज त्यही महकले अदृश्य दबाब र प्रश्नहरूको भारी बोकेर ल्याउँछ। कहिलेकाहीँ लाग्छ—हामी दशैंलाई खोजिरहेका छैनौँ, दशैंले नै हामीलाई खोज्दै हाम्रो ठेगानामा दस्तक दिइरहेको छ।
केही वर्ष अगाडिका दशैं सम्झिँदा त्यो अभावमै पनि अपनत्व झल्किन्थ्यो। गाउँघरको आँगनमा पाकेको सेलरोटी, पुरी, बटकुको बास्नाले टोलभरी सम्बन्धको न्यानोपन छर्थ्यो। घरमुलीले दिएको पाँच रुपैयाँको नयाँ नोटको दक्षिणामा पनि अथाह आशीर्वाद, माया र स्नेह लुकेको हुन्थ्यो। त्यो दक्षिणा गनिँदैनथ्यो, पूजाकोठामा राखेर ढोगिन्थ्यो। किताबको पानामा वा पर्सको कुनामा जतनसाथ राखिन्थ्यो। गाउँमा हालिएको बाबियोको पिङ, पिङको हरेक मच्चाइले धर्ती छोड्दा मन फुरुङ्ग हुन्थ्यो। मानौँ वर्षभरिका सबै दुःख–पीडा हावामै बिलाएर गए र फेरि जमिनमा टेक्दा नयाँ उत्साहले अर्को उडान दिने गर्थ्यो। पालो कुर्दै मुस्कुराउने दौँतरीहरूको अनुहार नै दशैंको मर्म थियो—जहाँ जोडिनु, रमाउनु र बाँडिनु भाइ–भाइ सरहको सम्बन्ध थियो।
आज पनि घरमा आफन्त जमघट त हुन्छ, तर संवादभन्दा बढी मोबाइलको स्क्रिनमा आँखा कुदिरहेका हुन्छन्। एउटै कोठामा बसेका दुई भाइ फेसबुकमा स्टाटस लेख्न वा रिल हेर्न व्यस्त हुन्छन्। एक वर्षभरिका अनुभव, भोगाइ र विचारधारा आदानप्रदान गर्न समय कसैलाई छैन। हजुरबा–हजुरआमाले दिने आशीर्वाद सुन्ने धैर्य हराइसकेको छ। सबैलाई हतार छ—टीका थापेका फोटो खिची ‘Dashainvibes’ भनेर सामाजिक सञ्जालमा हाल्न। रीतिरिवाजको मर्म बुझ्नेतर्फ ध्यान कम हुँदै गएको छ। सम्बन्धहरू भौतिक रूपमा नजिक भए पनि भावनात्मक रूपमा टाढा भइरहेका छन्। यसै कारण ‘कनेक्टिभिटी’को युगमा हामी झन् ‘डिस्कनेक्टेड’ हुँदै गएका त छैनौँ?
गाउँघरका हजुरबा–हजुरआमाले बनाएका ढुङ्गाका घरमा वर्षौंदेखि ताल्चा लागेको छ। दशैंमा क्षणभरका लागि त्यो ताल्चा खोलिन्छ, तर टीकाको दिन सकिँदासाथ फेरि अर्को वर्षको लागि बन्द हुन्छ। गाउँको सामुदायिक पिङ खेल्दा सुनिने आवाज हराइसकेको छ। रोटे पिङ र चङ्गा उडाउनु अब केवल पुराना कथामा मात्र सीमित भएको छ।
त्यसो भए, के दशैंको मर्म साँच्चै मरेकै हो त?
सायद होइन। तर आजकालको दशैं गहिरो निद्रामा छ। रीतिरिवाज र चलन सुस्त बनेका छन्। दशैंको पवित्र आत्मा हामीभित्रै कतै दबिएको छ। त्यसलाई खोजेर पुनर्जीवन दिनुपर्ने आवश्यकता छ। यसको अर्थ समयलाई पछाडि फर्काउनु भन्ने होइन, वर्तमानमै यसको सार, मर्म, धर्म र संस्कारलाई जीवित राख्नु हो।
परिवर्तन आफैँबाट सुरु गर्न सकिन्छ। दशैंमा छोराछोरीलाई महँगो कपडाको सट्टा आफ्नै बाल्यकालको कथा सुनाऔँ। ऋण काढेर खसी ढाल्नेभन्दा, परिवारसँग बसेर जे सकिन्छ त्यही बाँडेर खाऔँ। दक्षिणाको रकमले आशीर्वादको तौल नगर्ने संस्कार सिकाऔँ। मोबाइल एकछिन बन्द गरेर आफ्ना मान्यजनका कुरा सुन्ने प्रयास गरौँ।
जबसम्म हामी दशैंलाई सामाजिक प्रतिष्ठा देखाउने माध्यम बनाउँछौँ, तबसम्म यसले बोझ र पीडा मात्रै दिन्छ। तर जब यसलाई मन जोड्ने, सम्बन्ध नवीकरण गर्ने र आशीर्वाद ग्रहण गर्ने अवसरको रूपमा लिन्छौँ, तब मात्र यसको वास्तविक मर्म जीवित रहन्छ।