सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–दीपायल द्रुतमार्गका सात पुल निर्माणको काम अलपत्र

फाइल फोटो
फाइल फोटो
२०८२ असोज १५, १२:२९ कमल सावद

धनगढी : धनगढी–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडकमा सात वटा पुल निर्माणको काम अलपत्र परेको छ। धनगढी–दिपायल–चैनपुर–उरै भञ्ज्याङ सडक आयोजना कार्यालयले चार वर्षअघि लगाएको सात वटा पुल निर्माणको काम रोकिएको हो।

धनगढी–दीपायल सडकमा आठ पुल निर्माणको ठेक्का भएकोमा एक पुलको काम मात्र पूरा भएको छ। दुई वटा पुलको काम १५ प्रतिशतसमेत भएको छैन। बाँकी पाँच वटा पुल निर्माणको काम ४५ प्रतिशतको हाराहारीमा पुगेको छ। तर, तिहारपछि मात्र पुलहरू निर्माणको काम सुरु हुने छ। पुल निर्माणको काम पूरा नभएकाले धनगढी–दीपायल सडकमा सवारी सञ्चालन गर्न सकिएको छैन। आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले तिहारपछि मात्र काम सुचारु हुने बताए। उनले भने, ‘ठेकेदारहरु सम्पर्कमा छन्। तिहारसम्म काम बन्द नै हुन्छ। तिहारपछि मात्र सुरु हुन्छ होला।’

धनगढी–दीपायल–चैनपुर–उरै भञ्ज्याङ सडक योजना कार्यालय, धनगढीले २०७८ माघमा ६ वटा र २०७९ जेठमा दुईवटा गरी ८ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो। आयोजना कार्यालयले २८ करोड ७५ लाख रुपैयाँमा ठेक्का लगाएको थियो। तर, पुल निर्माणको सम्झौता भएको चार वर्षसम्म काम अलपत्र छ। हालसम्म एक पुल निर्माणको काम पूरा भएको छ। दुई वटा पुलको १५ प्रतिशत पनि भौतिक प्रगति भएको छैन। बाँकी पुलहरुको ४५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति पुगेको आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी दिनेश रैखोलाले बताए। उनले भने, ‘सालकोटको पुल सकियो। अन्य पुलहरूको काम सकिएको छैन। ४५ प्रतिशतको हाराहारीमा भौतिक प्रगति पुगेको छ। कालागाड र नकुडारी खोलाको १५ प्रतिशत मात्र काम भएको छ।’

धनगढी–दीपायल सडकअन्तर्गत सलेनामा सालाकोट पुल गल्वा–जगदम्बा–सुर्मा सरोबर जेभीले काम सकेको छ। सो पुल निर्माणका लागि तीन करोड ५१ लाख रुपैयाँमा सम्झौता भएको थियो। कालागाड खोला र नकुराडी खोलाको पुलको काम १५ प्रतिशतसमेत भएको छैन। अन्य पुलहरुको काम ४५ प्रतिशतकको हाराहारीमा पुगेका छन्। चौकीगडा खोलामा पुल निर्माण गर्न मित्र बिल्डर्स र आयोजना कार्यालयबिच ४ करोड १६ लाख २२ हजार रुपैयाँमा सम्झौता भएको थियो। तीनवटा पुलको ठेक्का र दुई पुलको पेटी ठेक्का लिएको मित्र बिल्डर्सले मटेलीखोली पुल, हाटखोली पुलमा, चेप्टे खोला पुल निर्माण गर्दै छ।

मटेली खोला पुल निर्माण गर्न दुई करोड ८८ लाख, चेप्टेखोला पुल निर्माण गर्न दुई करोड ६२ लाख ९७ हजार रुपैयाँमा मित्र बिल्डर्ससँंग सम्झौता भएको थियो। ग्वासी खोलामा तीन करोड ९८ लाख ७७ हजार ५५८ र हाटखोली खोलामा चार करोड ५९ लाख ९८ हजार रुपैयाँमा पुल निर्माण गर्न गुल्लीभर–कुटुम्बा–भुवनेश्वरी जेभीसंँग सम्झौतामा भएकोमा मित्र बिल्डर्सले नै काम गरिरहेको छ। यस्तै जमुनाबासस्थित कालागाडमा पुल निर्माण गर्न टिडिआर कन्स्ट्रक्सन प्रालिसँंग तीन करोड ५८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको थियो। गडशेरास्थित नकसराडी गाडमा पुल निर्माण गर्न मालिका–सनीदेव–जेबी जेभीसँंग तीन करोड ३८ ७१ हजार रुपैयाँमा सम्झौता भएको हो। धनगढीदेखि थलारासम्मको १८६ किलोमिटर सडकमा २३ किलोमिटर सडक कालोपत्र भएको छ भने ३६ किलोमिटर सडक कालोपत्र गर्न तीन खण्डमा ठेक्का लगाइएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस