त्रिनगर र गड्डाचौकी नाकाबाट १३ दिनमा १३ हजार व्यक्ति भित्रिए
धनगढीः कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दशैंको समयमा १३ हजार जना भित्रिएका छन्। असोज १ गतेदेखि १३ गतेसम्म कामको खोजीमा भारत गएका व्यक्ति दशैं मनाउन भन्दै स्वदेश फर्किएका हुन्।
असोज १ गतेदेखि १३ गतेसम्म त्रिनगर नाकाबाट ९ हजार २०५ जना भित्रिएका छन् भने गड्डाचौकी हुँदै चार हजार चार जना स्वदेश फिर्ता भएका हुन्। यस्तै, कञ्चनपुरको गड्डाचौकी नाका भएर १३ दिनमा दुई हजार ६८८ जना भारत पलायन भएका छन् भने त्रिनगर भएर एक हजार ६७० जना भारत गएका छन्। दशैंको समयमा समेत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट चार हजार ३५८ जना कामको खोजीमा भारत गएका हुन्।
त्रिनगर हेल्पडेस्क तथा गड्डाचौकी हेल्पडेस्कले राखेको तथ्याङ्कमा दशैंमा घर छोडेर कामको खोजीमा जानेको संख्या उल्लेख्य छ। गड्डाचौकी नाका हुँदै १३ दिनमा दुई हजार ६५८ पुरूष, एक हजार १८१ महिला र १६५ बालबालिका स्वदेश फर्केको तथ्याङ्क छ। यस्तै, एक हजार ८१० पुरूष, ७५० महिला र १२८ बालबालिका भारत पलायन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कैलालीको त्रिनगर नाका भएर असोज १ गते ५०५ जना भित्रिएका थिए भने २०९ जना कामको खोजीमा भारत पलायन भएको तथ्याङ्कले देखाएको छ। यस्तै असोज २ गते ७२६ आएका छन् भने ११३ जना भारत पलायन भएका छन्। असोज ३ गते ८८६ जना आउँदा १३६ जना भारत गएका छन् भने असोज ४ गते ३२७ जना स्वदेश फर्किदा ११० जना कामको खोजीमा भारत पसेका छन्।
त्रिनगर हेल्पडेस्कले असोज ५ गते ७७० जना स्वदेश फर्केकोमा सो दिन ९५ जना विदेशिएको अभिलेख राखेको छ। यसैगरी असोज ६ गते ४८१ जना, ७ गते २४५ जना र असोज ८ गते ९५६ जना विदेशिएकोमा क्रमशः ५२ जना, १२१ जना र ४८ जना कामको खोजीमा भारत गएको तथ्याङ्क छ।
भारतबाट त्रिनगर नाका भएर असोज ९ गते एक हजार १५१ जना, १० गते एक हजार १२४ जना तथा ११ गते ४५५ जना दशैं मान्न घर फर्किएका छन्। दशैंको बीचमा पनि ९ गते ३५९ जना, १० गते १७३ जना र ११ गते ८२ जना भारत पलायन भएका छन्।
असोज १२ र १३ गते क्रमशः ५६३ र एक हजार १६ जना दशैं मान्न घर फर्किएकामा क्रमशः ७३ र ८१ जना दशैंको मुखमा भारत पसेको तथ्याङ्कले देखाएको छ।