सुदूर नेपाललाई विश्वसँग जोड्दै

देवभूमि सुदूरपश्चिम: यी हुन् दशैँमा मेला लाग्ने शक्तिपीठ

डडेल्धुराको उग्रतारा मन्दिर
डडेल्धुराको उग्रतारा मन्दिर
२०८२ असोज १३, ०४:२६ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेशलाई देवभूमि पनि भनिन्छ।

कैलाश मानसरोवर भन्दा दक्षिण, महाकाली र कर्णाली नदीको बीचको यो भूभागमा अनगिन्ती धार्मिक स्थल छन्। देवी र देवताका मन्दिर हरेक डाँडो, थुम्को र गाउँमा भेटिन्छन्।

सुदूरपश्चिमका देवस्थलहरूमा साउनदेखि पूजापाठ सुरु हुन्छ। भिन्न-भिन्न तिथि र मितिमा साउनदेखि पुससम्म यहाँका मन्दिरहरूमा पूजापाठ गरिन्छ। यहाँका शक्तिपीठहरूमा आश्विन दशैँ र चैते दशैँमा विषेश पूजापाठ गरिन्छ। सुदूरपश्चिम प्रदेशमा रहेका १६ बहिनी भगवतीलाई षोडशमातृका भनिन्छ। पौराणिक रूपमा रहेका सप्तमातृकालाई सात बहिनी र नवदुर्गाभगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ ।

भगवतीको पूजा हुने स्थानमा कुनै न कुनै देवताको समेत पूजा गरिन्छ। सुदूरपश्चिमको बैतडी र डडेल्धुरा जिल्लामा भूमिराज देवतालाई भूमिको अधिदेवताका रूपमा पूजा गरिन्छ। भूमिराजलाई भगवतीको भाइका रूपमा मान्ने गरिन्छ। भूमिराज देवताका ज्योतिषी समेत हुन् भन्ने विश्वास गरिन्छ।

सुदूरपश्चिमको बझाङ, डोटी, अछाम र बाजुरामा भने देवी र मष्टो देवताकाे पूजा गरिन्छ। मष्टो देवतालाई पनि भगवतीको भाइका रूपमा पूजा गर्ने चलन छ ।

बाजुरामा कहाँ-कहाँ लाग्छ मेला?

बाजुरा जिल्लामा रहेको बडीमालिका सुदूरपश्चिमकै ठूलो शक्तिपीठ हो। भगवतीमा सबैभन्दा जेठी बहिनी बडीमालिका नै हुन् भन्ने विश्वास गरिन्छ। बडीमालिकामा साउन शुक्ल चतुर्दशीको दिन पूजापाठ गरिन्छ। यस्तै, दशैँ तथा कार्तिक महिनामा बाजुराका विभिन्न शक्तिपीठमा बलि सहित विशेष पूजा गरिन्छ। त्रिवेणी नगरपालिका-८ मा रहेको नाटेश्वरी मन्दिर, खप्तड छेडेदह गाउँपालिकाको बोरागाउँ, बुढीगङ्गा नगरपालिकाको भुक्तोली तथा बुढीनन्दा नगरपालिकाको कोल्टीमा दशैँको मेला लाग्ने गरेको पत्रकारसमेत रहेका हिमाल जोशीले बताए।

भगवती मन्दिरको जिल्ला बैतडी

बैतडी जिल्ला शक्तिपीठहरूको जिल्ला हो। बैतडीको पुर्चौडी नगरपालिका र डिलासैनी गाउँपालिकामा डिलासैनी भगवती मन्दिर छन्। डिलासैनीको मठैराजको द्वारी कफलान गाउँलाई माता डिलासैनीको उद्गम मानिन्छ। यो ठाउँमा कुनै बलि दिइन्न। तर पुर्चौडी-९ तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरमा महाअष्टमीको दिन मेला लाग्छ भने पुर्चौडी-८ मल्लादेहीमा दशमीको दिन मेला लाग्ने गर्छ। पुर्चौडी-५ को भूमिराज मन्दिरमा भने एकादशीको दिन मेला लाग्ने गर्छ।

बैतडी सदरमुकाम गोठालापानी नजिकै त्रिपुरासुन्दरी भगवती मन्दिर छ। सदरमुकामबाट करिब तीन किलोमिटर पश्चिम गोठालापानी-झुलाघाट सडकखण्डमा रहेको यो मन्दिरलाई रणसैनी भगवती पनि भनिन्छ। चिनिन्छ। यहाँ लाग्ने मेलामा बैतडीसहित भारतको उत्तराखण्ड राज्यका कुमाउ-गढवालबाट समेत भक्तजन आउने गरेका छन् । बैतडीको दशरथचन्द नगरपालिका देहिमाण्डौमा निङ्गलासैनी भगवती मन्दिर छ। यहाँ महानवमीको दिन मेला लाग्छ। यो मन्दिरमा भारतको उत्तराखण्डबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन्।

दशैँको नवरात्रमा बैतडीको मेलौली भगवती, डिलासैनी गाउँपालिका धामी गाउँको लोखाडी भगवती र कफल्देहीको कफलासैनीमा मेला लाग्ने गर्छ। सुर्नाया गाउँपालिका-५ को रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि मेला लाग्ने गर्छ। यहाँकी भगवतीलाई पनि कफलासैनी भनिन्छ। बैतडीको पञ्चेश्वर गाउँपालिकाको रोडीदेवलमा पोटलासैनी भगवती मन्दिर छ। यहाँ पनि नवरात्रमा पूजापाठ गरिन्छ।

बैतडीको अन्य मन्दिरहरूमा पनि असोज शुल्क प्रतिपदादेखि विभिन्न तिथिमा देवताहरूको पूजा गरिन्छ। यहाँका सिगास, केदार, महादेव, भूमिराज, समैजी, लाटो, अट्याल, अनिरुद्र, कैलपाल, निरपाल, मौभेरो, गलिनाथ, मठैराज, जगन्नाथ, दुर्गा, राताशिलालगायत देवताका मन्दिरहरूमा विषेश पूजापाठ हुने गर्छ।

अछामको मङ्गलसेनमा हरेक गाउँमा शक्तिपीठ

अछाम जिल्लाको मङ्गलसेन नगरपालिका सहित जिल्लाका हरेक पालिकामा नवरात्रमा देवी पूजा हुने गरेको छ। मङ्गलसेन नगरपालिकाका मेयर पदमबहादुर बोहराले नगरपालिकाको हरेक वडा र गाउँ दशैँको बेला पूजापाठ हुने गरेको बताए। मङ्गलसेनमा षोडशा भगवती मन्दिरहरूमा पूजापाठ हुन्छ। यस्तै, मङ्गलसेन-५ को पूर्णादेवी मन्दिर, वडा नम्बर ६ र ७ को जालपादेवी मन्दिर, वडा नम्बर ९ को धुम्रलोचनी माता मन्दिर, वडा नम्बर १४ को कोकिलदेवी मन्दिर र सबै वडाका कालिका मन्दिरमा पूजापाठ गर्ने र मेला लाग्ने गरेको नगर प्रमुख बोहराले बताए।

अछामको बान्नीगढ जयगढ गाउँपालिका गाजरा र तिमल्सैनमा रहेका बर्दादेवी मन्दिरमा पनि दशैंको बेला पूजापाठ गरिन्छ। बर्दादेवीमा कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गर्छ।

अछामकै चौरपाटी गाउँपालिका मार्कुमा बज्रयोगिनी मन्दिर तथा तुर्माखादको तितौडामा रहेको त्रिपुरासुन्दरी भगवती मन्दिरमा पनि कोजाग्रत पूर्णिमामा मेला लाग्ने गर्छ। ढकारी गाउँपालिकाको कालिका मन्दिरमा दशैंको दिन मेला लाग्छ भने पञ्चदेवल विनायक नगरपालिकाको कुइकेल्ली माईको मन्दिरमा पनि दशैंको दिन मेला लाग्छ। यहाँ कालीकोट र दैलेखबाट समेत भक्तजन आउने गर्छन्।

डडेल्धुराको उग्रतारा र डोटीको शैलेश्वरी शक्तिपीठ

डडेल्धुराको उग्रतारा मन्दिरमा नवरात्रको अवसरमा विशेष पूजापाठ हुन्छ। यस्तै नवदुर्गा गाउँपालिकाको नवदुर्गा मन्दिर, अजयमेरू गाउँपालिकाको चोरा भगवती र गुनपाल भुवनेश्वरी भगवती मन्दिरमा पूजापाठ हुने टेकराज पनेरूले बताए।

डडेल्धुराको घटान थानमा दशमीको दिन मेला लाग्छ भने नवरात्रको विभिन्न तिथिमा अशिग्राम, मणिलेक,जगन्नाथ, कैलापाल, भूमिराज, समैजी, निलपाल, डागेश्वर, जङ्गेश्वर लगायतका देवताको मन्दिरमा मेला लाग्ने पनेरूले बताए।

डोटीको सिलगढीस्थित शैलेश्वरी मन्दिरमा नवरात्रको हरेक दिन पूजापाठ हुन्छ। यस्तै, जोरायलको निरौलीमा दशमीको दिन ठूलो मेला लाग्ने गरेको स्थानीय तीर्थराज भट्टले बताए। डोटीको बोगटानसहितका विभिन्न ठाउँमा समेत दशैँको मेला लाग्ने गर्छ।

बझाङमा सुर्मादेवी र दुर्गाथली

बझाङको सदरमुकाम चैनपुरमा कोजाग्रत पूर्णिमाको दिन शिलदेवी जात्रा हुन्छ भने दुर्गाथलीको भवती मन्दिरमा भने भदौमै मेला लाग्ने गरेको स्थानीय झलक दौल्यालले बताए। बझाङको बित्थडचिर गाउँपालिकाको चिरासैनी मन्दिरमा भने मंसिर शुल्क पूर्णिमाको दिन मेला लाग्छ। बझाङको प्रसिद्ध सुर्मादेवी मन्दिरमा भने साउन र भदौमा पूजापाठ गरिन्छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस