कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरे
धनगढी : कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखरा मरेका छन।
विद्युत् आपूर्तिमा समस्या भएपछि लम्कीचुहा नगरपालिका–७ हरैयामा दुर्गा बोहराले सञ्चालन गरेको पोल्ट्री फार्ममा रहेका कुखुरा राति मरेका हुन।
अण्डा दिइरहेका कुखुरा मरेपछि एक करोड बराबरको क्षति भएको पीडित दुर्गा बोहराले बताएका छन्। फार्म सञ्चालकले विद्युत आपूर्ति कम हुँदा कुखुरा मरेको गुनासो गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले फर्मको निरीक्षण गरेका छन्।
त्यस क्रममा मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका प्रमुखलाई आवश्यक समन्वय गरेर विद्युत् आपूर्ति प्रभावकारी बनाउन निर्देशन दिएको बताएका छन्।