विभिन्न छ ठाउँमा राजमार्ग अवरुद्ध
काठमाडौँः अविरल वर्षा, बाढीपहिरोका कारण देशका विभिन्न छ ठाउँमा आज पनि राजमार्ग बन्द रहेका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका छ ठाउँमा राजमार्ग अवरुद्ध रहेका जानकारी दिए। उनका अनुसार अहिले बिहान ९ बजेसम्मको विवरणअनुसार अविरल वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाएँपालिका–४ बरुणमा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सोही जिल्लाको मकालु गाउँपालिका–३ एकुवामा अविरल वर्षाका कारण कोशी राजमार्ग अवरुद्ध भएको उनले बताए। यो सडक विगत लामो समयदेखि अवरुद्ध रहेको छ। रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न सकेको छैन। सडक अवरुद्ध हुँदा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन। आज रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पनि पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ। पहिरो पन्छ्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपािलका–७ एककिलोमा आइतबारदेखि परेको वर्षसँगै आएको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता घिमिरेले जानकारी दिए। उनका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार परिोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको छ।