उच्च मनोवलका साथ काम गर्न गृह सचिवको निर्देशन
काठमाडौः गृह सचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। दुवाडीले प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन्।
गृह सचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकचन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। सो क्रममा उनले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेका थिए।
निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृह सचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गरेका छन्। मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा कुरामा दंगालले जोड दिए।
गृह सचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनर्स्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगको प्रशंसा गरेका छन्।
उनले नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। सचिव दंगालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने बताएका छन्।
प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उनले बताएका छन्।
कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले धन्यवाद ज्ञापन गरेका थिए। देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहने प्रहरी प्रमुख खापुङले बताएका छन्।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाहगरिरहने बताएका छन्। हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उनले बताए।
प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमुखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको उल्लेख गरेका छन्। हाल चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवम् विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको उनले बताए।
निरीक्षण भ्रमणको क्रममा गृह सचिव दंगाल समक्ष प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सह-सचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।