सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

२०८२ असोज ९, ०४:३२ खबर संवाददाता

कञ्चनपुर : एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन्।

शिक्षण पेशा छोडेर व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन्। उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन्। “कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले।” पैतोलाले भने, “सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए।” उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गर्नुभएको थियो। पछि उहाँलाई आफैँले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गर्नुभएको हो।

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन। त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए। तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरेका हुन। “अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो।” उनले भने, “विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो।” उनले अहिले दैनिक ८ सय ज्याला दिनेगरी तीन जना कामदारसमेत राखेका छन्। उनको जग्गामा टमाटर, करेला, काँक्रोलगायतका लहरे तरकारी उत्पादन भइरहेको छ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उहाँले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेका छन्। “बिघाको वार्षिक पचास हजारका दरले दुई बिघा १५ कठ्ठा जग्गा भाडामा लिएको छु।” उनले भने, “सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ।” उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए। वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनले बताए। तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनले बताए। “मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ।” उनले भने, “आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ।”

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फुर्सदको समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएका छन्। पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो। सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ।

 

कमेन्ट लोड गर्नुस