सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँच दशकपछि धारापानी क्षेत्रमा विद्युतीकरण

२०८२ असोज ९, ०७:५२ रासस

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका) मा विद्युतीकरणको काम धमाधम अगाडि बढाइएको छ।

नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत यहाँ कार्य गरिरहेको हो। वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार पोल गाड्ने, मजदुरलाई दिने ज्यालासहितको ठेक्का वितरण केन्द्रले गरेको छ भने पोल, तार, ट्रान्सफर्मरलगायत सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ। यसका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान छ।

विद्युतीकरणका लागि वितरण केन्द्रले कलौनी निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ। यसअन्तर्गत पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने, ट्रान्सफर्मर राख्ने र विद्युत् सञ्चालनमा ल्याउने कार्य हुने जनाइएको छ। केन्द्र्र प्रमुख श्रीवास्तवले  हाल आवश्यक सामग्री ढुवानी भइसकेको र पोल गाड्ने काम तीव्र गतिमा अगाडि बढाइएको बताए। धार्मिक क्षेत्र मुडकादेखि पर्यटकीय गाउँ धारापानीसम्मको पाँच किलोमिटर क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्य रहेको र यसका लागि एक ८२ वटा पोल जडान गरिने उनले जानकारी दिए। ठेक्का सम्झौताअनुसार ९० दिनभित्रै काम सक्ने लक्ष्य राखिएको छ।

तिहारअघि नै त्यस क्षेत्रमा बिजुली पु¥याउने हाम्रो रहेको श्रीवास्तवले बताए। विद्युतीकरणको काम अघि बढेपछि स्थानीय बासिन्दा र भक्तजनमा खुसी छाएको छ। वडा नं ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावका कारण भक्तजनले सास्ती खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा छ।” उनका अनुसार धारापानीमा विसं २०२८ सालदेखि बस्ती बसेको भए पनि हालसम्म विद्युत् सेवा पुगेको थिएन। त्यहाँ करिब ३५ परिवारको बसोबास छ।

स्थानीय बासिन्दाले लामो समयदेखि टुकीको भरमा रात कटाउँदै आएका थिए। स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ भन्ने समाचारले हामी निकै खुसी भएका छौँ। विद्युत् नहँुदा समस्या थियो, मोबाइल चार्ज गर्न तीन किलोमिटर टाढाको गाउँसम्म पुग्नुपर्दथ्यो, विद्युतीकरणका लागि पोल गाड्ने कार्य अगाडि बढेकाले विद्युत् पुग्नेमा आशावादी भएका छौँ”, उनले भने।

यसै कार्यक्रमअन्तर्गत शुक्लाफाँटाको मुडका मात्र होइन, भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा समेत करिब ५५ घरधुरीलाई विद्युत् सेवा विस्तार गरिएको वितरण केन्द्रले जनाएको छ। त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल गाड्ने, तार तान्ने र दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् सञ्चालनमा ल्याइएको छ। श्रीवास्तवका अनुसार पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिका क्षेत्रसम्म पनि विद्युत् बिस्तारको कार्य पूरा गरिएको छ।

कमेन्ट लोड गर्नुस