राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी
काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले आज अध्यादेश जारी गरेका हुन्। यो सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सिफारिश गरेर राष्ट्रपति पौडेलले जारी गरेको पहिलो अध्यादेश हो।
सरकारले आउँदो फागुन २१ गते प्रतिनिधिसभा चुनाव तोकेको छ। चुनाव तोकेपछि मतदाता नामावली सङ्कलन गर्न नमिल्ने व्यवस्था थियो। त्यसैले सरकारले अध्यादेश ल्याएर कानून संशोधन गरेको हो। अब निर्वाचन आयोगलाई चुनावसम्बन्धी प्रक्रिया अघि बढाउँदै मतदाता नामावली पनि सङ्कलन गर्न बाटो खुलेको छ। अध्यादेश जारी गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता पनि गरेकी छन्।
जेन–जी आन्दोलनका कारण संसद् विघटन भएर चुनाव हुन लागेको हो। तर चुनावमा जेन–जी समूहका धेरै मताधिकार प्रयोगबाटै वञ्चित हुन सक्ने अवस्थालाई ख्याल गरेर सरकारले मतदाता नामावली सङ्कलनका लागि बाटो खुला गरिदिएको हो।