सुदूरपश्चिम सरकारले धनगढीमा मनायो संविधान दिवस
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा संविधान दिवस मनाएको छ। संविधान दिवसको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको सही कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा आज आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन कायम साथै शान्ति, स्थिरता र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका हुन्।
संविधानको ऐतिहासिक पृष्ठभूमि र यसले बोकेका मूल मर्मलाई पुनःस्मरण गर्नु जरुरी रहेको उनले उल्लेख गरेका छन। असङ्ख्य सङ्घर्ष, जनआन्दोलन, बलिदान र दीर्घकालीन सङ्घर्षको परिणाम स्वरूप निर्वाचित संविधान सभाबाट संविधान जारी भएको मुख्यमन्त्रीले स्पष्ट पारेका छन।
संविधानले बहुल समाजलाई एक साझा सूत्रमा बाँध्ने आधार प्रदान गर्नुका साथै राज्यका सबै निकायमा समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरेको मुख्यमन्त्रीको भनाइ छ। उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि संविधानले आधार निर्माण गरेको उल्लेख गरेका छन।
मुख्यमन्त्री शाहले यो संविधानलाई संसारको एउटा अग्रगामी संविधानको रूपमा चित्रण गरिए पनि यसको उचित कार्यान्वयन हुन नसकेको जिकिर गरेका छन। शाहले युवाले उठाएका भ्रष्टाचारमुक्त शासन, समान अवसर, पारदर्शीता र जवाफदेहीतको माग संविधानको मूल मर्मसंग जोडिएका बताए। भदौ २३ र २४ गते भएको युवा पुस्ताको प्रदर्शनले उनीहरूमा रहेको जोश, जागर र परिवर्तनप्रतिको चाहनालाई उजागर गरेको मुख्यमन्त्रीको भनाइ छ।
हालैकोे घटनाहरूबाट भएको जनधनको क्षतिले सबैलाई गहिरो चोट पु¥याएको भन्दै मुख्यमन्त्री शाहले यस घटनाले कमीकमजोरीहरूको समीक्षा गर्दै सुशासन, समृद्धिका लक्ष्य हासिल गर्न थप प्रभावकारिताका साथ लाग्न सन्देश दिएको बताए। घटनाले लोकतान्त्रिक अभ्यासलाई अझ संवेदनशील, जिम्मेवार र उत्तरदायी ढङ्गले अघि बढाउनु पर्ने आवश्यकता सबैलाई स्मरण गराएको उनले उल्लेख गरेका छन।
समारोहमा प्रदेश प्रमुख नजिर मियाँ, सभामुख भीमबहादुर भण्डारी, सरकारका मन्त्री, प्रदेश सभा सदस्य, राष्ट्रसेवक कर्मचारीको उपस्थिति रहेको थियो।