घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको नियमित सेवा सञ्चालनमा समस्या
कैलाली: आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेपछि कैलालीको घोडाघोडी र गौरीगङ्गा नगरपालिकाका कार्यालय सञ्चालन नियमित हुन सकेका छैनन् । प्रदर्शनकारीले नगरपालिकाको प्रशासकीय भवनका साथै सबै वडा कार्यालयमा तोडफोड गरेर आगो लगाएपछि नियमित कार्यसञ्चालनमा समस्या भएको हो।
घोडाघोडी नगरपालिकाका शिक्षा शाखा अधिकृत तथा सूचना अधिकारी उमेशराज रेग्मीले सामान्य सिफारिस गर्ने कामबाहेक अरू काम गर्न नसकिएको बताए। नगरपालिकालगायत सबै १२ वटा वडा कार्यालयमा गरिएको तोडफोड र आगजनीले कार्यालयका सबै सामान नष्ट भएकाले कार्यालय सञ्चालनमा समस्या भएको सूचना अधिकारी रेग्मीले जानकारी दिए। उनले भने, “अहिले तोडफोड र आगलागीबाट नष्ट, छरपस्ट भएको कार्यालय भवन सरसफाइको काम सकिएको छ । सबै शाखा व्यवस्थापन गर्न अझै समय लाग्छ ।”
तोडफोड गरिएका, आगजनी गरेर जलाइएका संरचना तथा सामग्रीको क्षतिको मुचुल्का तयार गर्न, मूल्याङ्कन गर्न, सरसफाइ गर्न समय लाग्ने भएकाले कार्यालय पूर्ण सञ्चालनमा समय लाग्ने घोडाघोडी नगरपालिका–१ का वडाअध्यक्ष एवं प्रवक्ता घनश्याम ओझाले बताए। उनले वडामा दर्ता चलानीसमेत जलेर नष्ट भएकाले शून्यबाट काम सुरुवात गर्नुपर्ने जनाउँदै कम्प्युटर सिस्टमबाट हुने काम भने एक÷दुई दिनमा सञ्चालनमा ल्याउने प्रयास भएको बताए।