सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विस्फोट :उपचार खर्च व्यहोर्ने प्रशासनको आश्वासनपछि एकजना डिस्चार्ज

२०७६ साउन १३, ०१:३३ खबर संवाददाता

धनगढीमा गत साउन २ गते भएको बम विस्फोटमा परी घाईते भएका एकजना अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलको बाहिर पट्टी भएको विस्फोटमा घाईते भएका ग्यारेज सञ्चालक मोविन खानलाई माया मेट्रो अस्पतालले डिस्चार्ज गरिएको जनाएको छ।

अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले  जिल्ला प्रशासन कार्यालयले खानको उपचारमा लागेको खर्च व्यहोर्ने आश्वासन दिएपछि डिस्चार्ज गरिएको जानकारी दिए। साउन १० गते नै अस्पतालबाट डिस्चार्ज गरिएका साउँदले उपचारमा लागेको खर्च बुझाउन नसकेपछि अस्पतालले उनलाई छोडेको थिएन तर जिल्ला प्रशासन कार्यालयको आश्वासन पछि खान अस्पतालबाट घर फर्किएका छन्।

विस्फोटमा परी घाईते भएका जितेन्द्र यादव, लक्ष्मण सेरेलाको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ भने होटल सञ्चालक केशवराज पाण्डेको कोहलपुरमा उपचार भइरहेको छ। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बम विस्फोटमा परी घाईते भएकाहरुको उपचारमा लागेको खर्च व्यहोर्न आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने बताए।

उनले बम विस्फोटमा परी घाईते भएकाहरुको खर्च व्यहोर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिने बताउँदै मन्त्रीपरिषद् बैठकको निर्णय आवश्यक पर्ने हुँदा प्रक्रिया लामो जाने बताए। वम विस्फोटको घटना भएकाले उपचारमा रहेका र डिस्चार्ज भएकाहरुको निगरानी प्रशासनले गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले जनाए।

साउन २ गते भएको उक्त वम विस्फोटमा परी विप्लव समूहका कार्यकर्ता राम बहादुर सिंहको मृत्यु भईसकेको छ। विप्लव समूहले आत्म सुरक्षाका लागि सिंहले बोकेको बम विस्फोट भएको दावी गरेपनि प्रहरी प्रशासनले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। विप्लव कार्यकर्ता भनिएका लक्ष्मण सेरेलाको पनि सुरक्षा निगरानीका बिच उपचार भइरहेको छ। यसअघि हिजो राष्ट्रिय प्रजातान्त्रिक य्वा संगठान कैलालीले पनि  विज्ञप्ती जारी गर्र्दै घटनाको सत्यतथ्य पत्ता लगाएर बाहिर ल्याउन माग गर्दै घाईतेको उपचार खर्च व्यहोर्न सरकारसंग माग गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस