कञ्चनपुरका तीन पालिकामा सेवा अनिश्चित
कञ्चनपुर: कञ्चनपुरका तीन स्थानीयतहको सेवा सञ्चालन अनिश्चित बनेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनकारीहरुको समूहले आगजनी र तोडफोड गर्दा यहाकाँ तीन स्थानीयतह सञ्चालनमा आउन सकेका छैनन्। ९ स्थानीय तह रहेका कञ्चनपुरमा तीन पालिकामा पूर्णरुपमा क्षति पुग्दा सेवा प्रवाह अनिश्चित बनेको हो।
जेनजी समूहको आन्दोलनमा भएको घुसपैठका कारण यहाँका पुर्नवास नगपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा अत्यधिक क्षति पुगेको छ। आन्दोलनकारीहरूले पुर्नवास नगरपालिका र कृष्णपुरमा अत्यधिक क्षति पु¥याएका छन् भने शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा पनि केही क्षति पुगेका छन्।
पुर्नवास नगरपालिका अधिकांश वडा कार्यालयहरु र नगरपालिका कार्यालयमा आन्दोलनकारीहरूले गरेको आगजनीका कारण अत्यावश्यक कागजातहरू जलेर नष्ट भएको पालिकाका सूचना अधिकारी धौल शार्कीले बताए। “आन्दोलनकारीले गरेको आगजनीका कारण पालिकाका सबै शाखा जलेर नष्ट भएका छन्,’’ उनले भने, ‘‘सफाइ गर्न झण्डै दुई साता जति लाग्न सक्छ।”
पालिकामा सफाइ सुरु गरिएको सूचना अधिकारी शार्कीले बताए। जेनजी आन्दोलनका क्रममा पालिकामा अत्यधिक लुटपाट समेत भएको बताइएको छ। सूचना अधिकारी शार्कीका अनुसार, पालिकामा बचेका कम्प्युटर, ल्यापटप, कुर्सी, लगायतका सामग्री चोरी भएका छन्। केही चोरी भएका सामग्री भने फिर्ता ल्याउने कार्य भइरहेको उनले बताए।
“कार्यालय भित्र कागजपत्र जलेको धुलो नै धुलो छ,’’ उनले भने, ‘‘१५ लाखभन्दा बढीको फर्निचर मात्रै जलेर नष्ट भएका छन्।” आन्दोलनकारीहरूले गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको उहाँले बताए। नगरपालिका सञ्चालनका लागि अझै दुई साता बढी लाग्ने सूचना अधिकारी शार्कीले बताएका छन्।
यसैगरी, आन्दोलनकारीहरूले कृष्णपुर नगरपालिकामा पूर्णरुपमा क्षति पु¥याउँदा पालिका सञ्चालनमा आउन सकेको छैन। आन्दोलनकारीहरूले नगरप्रमुख हेमराज ओझाको कार्यकक्ष, योजना शाखा, भूमि इकाई, स्वास्थ्य शाखा र शिक्षा शाखा आगजनी गर्दा कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताए। आन्दोनकारीहरुले पालिकामा लगाइएका एसी, पङ्खा, सिसा तोडफोड गर्नुका साथै ५ मोटरसाइकल जलेर नष्ट भएको उनले बताए। हाल पालिकामा सरसफाई तथा क्षतिको विवरण सङ्कलनको काम भइरेको उनले बताए। उनका अनुसार, पालिकाबाट सेवा सुचारु गर्न अझै साता दिन लाग्ने छ। यहाँ स्थित वडा कार्यालयहरू भने आइतबारदेखि सञ्चालनमा आएको उनले बताए।
आन्दोनलकारीहरुको समूहले शुक्लाफाँटा नगरपालिकामा केही क्षति पु¥याएका छन्, भने पालिकास्थित वडा नम्बर १,७ र ९ वडा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको सूचना अधिकारी मोहन फुलाराले बताए। पालिकास्थित तीन वडा कार्यालयमा पूर्णरुपमा क्षति पुगेको बताउदै सूचना अधिकारी फुलाराले क्षतिको विवरण सङ्कनको काम भइरहेकाले आगामी आइतबारपछि नगरपालिकाले कामकाज सुरु गर्ने गरी तयारी अगाडि बढाइएको बताएका छन्। कञ्चनपुरका ६ स्थानीय तह भने पूर्णरुपमा सञ्चालनमा आएका जनाइएको छ।