सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सारमा ल्यापटपको भरमा शिविर लगाएर पेट्रोलियम पदार्थको आपूर्ति

कैलाली भन्सारको सुरक्षामा रहेको नेपाली सेना
कैलाली भन्सारको सुरक्षामा रहेको नेपाली सेना
२०८२ भदौ २७, ०६:५९ कमल सावद

धनगढी : जेन–जी पुस्ताको आन्दोलनका क्रममा मङ्गलवार कैलाली भन्सार कार्यालय धोस्त भयो। भन्सार कार्यालय भित्र कुनै पनि भौतिक संरचनाहरू छैनन्। कैलाली भन्सार कार्यालयबाट आयात तथा निर्यात बन्द भएको छ।

तर, नेपाल आयल निगमको आग्रहमा पेट्रोलियम पदार्थको आयात भने थालिएको छ। बिहिवार मात्र कैलाली भन्सार कार्यालय बाहिर शिविर नै सञ्चालन गरेर २० ट्याङ्कर पेट्रोलियम पदार्थ धनगढी आएको हो। भन्सार कार्यालयमा कम्प्युटर र फर्निचर नष्ट भएकाले प्राङ्गणमा शिविर सञ्चालन गरेर एक ल्यापटपको भरमा पेट्रोलियम पदार्थ धनगढी आयात गरिएको छ। नेपाल आयल निगम, प्रादेशिक कार्यालय, धनगढीका प्रमुख हरि जोशीले बिहिवार १२ ट्याङ्कर डिजेल र आठ ट्याङ्कर पेट्रोल धनगढी आएको बताए। उनले भने, ‘हामीमा पनि दुविधा रहेको थियो। अवस्था सामान्य थिएन। उहाँहरूसँग छलफल भयो। उहाँहरूले बाहिर क्याम्पबाट काम गर्नुभयो। एक ल्यापटपबाट काम गरिदिनु भयो। इन्धन धनगढी ल्याएका छौ।’

कैलाली भन्सार कार्यालयले शिविर नै सञ्चालन गरेर एक ल्यापटपका भरमा पेट्रोलियम पदार्थको आयात गरि दिएपनि भारतीय भन्सारले भने कागज मागेको छ। भारतीय भन्सार कार्यालयले नेपालसम्म पेट्रोलियम पदार्थका गाडी पुग्नेमा सुनिश्चिताका लागि पत्र माग गरेको हो। नेपाल आयल निगम, धनगढीले पत्र पठाएपछि सशस्त्र प्रहरीको स्कटिङ्गमा धनगढीसम्म पेट्रोलियम पदार्थहरू बिहिवार ल्याइएको छ। भारतबाट बिहिवार १२ ट्याङ्कर डिजेल र ८ ट्याङ्कर पेट्रोल आयात गरिएको हो। बिहिवार २ ग्याँसका गाडीहरू पनि धनगढी आएका छन्। जोशीले भने, ‘भारतीय भन्सारमा समस्या थियो। सामान्य दिनहरूमा आवश्यक कागजातमा पास हुँदै आएको थियो। तर, हिजो उहाँहरूले कागज माग्नु भयो। गाडी जिम्मा लगाउनु भयो। २ घण्टा छलफल गरेका थियौ। सशस्त्र प्रहरीको स्कटीङमा गाडी ल्याएका छौ।’

नेपाल आयाल निगमको प्रादेशिक डिपो, धनगढीमा एक हजार पाँच सय ९० केएल डिजेल, आठ सय ३० केएल पेट्रोल र ७० केएल मट्टी तेल भण्डारणको क्षमता रहेको छ। डिपोको क्षमताको ८० प्रतिशत पेट्रोलियम पदार्थ शुक्रवारसम्म मौजात रहेको छ। धनगढीबाठ शुक्रवार २५ वटा ट्याङ्कर डिजेल र १५ ट्याङ्कर पेट्रोल आपूर्तिका लागि भारत पठाइएको छ। भारतीय भन्सार कार्यालयसँगको समन्वयमा धनगढीबाट ४० ट्याङ्कर भारत पठाइएको हो। नेपाल आयल निगम, प्रादेशिक कार्यालय, धनगढीका प्रमुख जोशीले पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नहुने बताए। उनले भने, ‘बजारमा पेट्रोलियम पदार्थ अभावको हल्ला छ। तर, यस्तो होइन। मानिसहरूले होल्ड गरेपछि किर्तिम अभाव गर्ने चलन छ। अहिले पेट्रोल पम्पहरूमा पनि इन्धन छ। तर, सुरक्षाका कारण देखाउदै उहाँहरूले खोल्नु भएको छैन। प्रहरी कल्याण कोषको पेट्रोल पम्प खुल्ला भएको छ। हामीले वितरण गरेका छौ। बजारमा समस्या हुँदैन।’ नेपाल आयल निगम, प्रादेशिक कार्यालय धनगढीले शुक्रवार एक सय ४० केएल पेट्रोल र एक सय ६८ केएल डिजेल वितरण गरेको छ। बिहिवार पनि ९० केएल डिजेल वितरण गरिएको थियो।

कैलालीमा २ वटा ग्याँस उद्योगहरू रहेका छन्। रेडियन्ट र सैपाल ग्याँस उद्योगका लागि शुक्रवार ६ वटा गाडी भारतबाट ग्याँस धनगढी आउदैछन्। सुदूरपश्चिममा खाना पकाउन ग्याँसको पनि अभाव नहुने दाबी गरिएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस