पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने सहमति
काठमाडौँ: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी समूहले प्रस्ताव गरेको अन्तरिम सरकार प्रमुखको नेतृत्व लिन सहमति जनाएकी छन्।
जेनजी समूहको भर्चुअल बैठकमा सहभागी सदस्यहरूको बहुमतले कार्कीलाई पहिलो रोजाइमा प्रस्ताव गरेपछि उनलाई सम्पर्क गरिएको थियो। समूहका सदस्य राष्ट्रविमोचन तिमल्सिनाले सो जानकारी सार्वजनिक गरेका हुन्।
समूहभित्र अन्तरिम सरकार प्रमुखका लागि कार्कीलाई उपयुक्त व्यक्तित्वका रूपमा प्रस्तुत गरिएको थियो। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदातामध्ये ४० प्रतिशतभन्दा बढीले उनको समर्थन गरेका थिए।
कार्कीसँग प्रत्यक्ष संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको थियो। कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेकी थिइन्।
करिब पाँच घण्टा लामो बैठकपछि जेनजीहरूले कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरी राष्ट्रपतिसँग वार्ता गर्ने निर्णय गरेका छन्। प्रारम्भिक १० नाममध्ये मतदान प्रक्रियाबाट कार्कीको नाम अन्तिम रूपमा चयन गरिएको हो।
यसअघि नेपाली सेनाले पनि उनलाई सम्पर्क गरी अन्तरिम सरकार प्रमुखको सम्भावनाबारे छलफल गरेको स्रोतले जनाएको छ।