सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीलाई गौरीफन्टा सीमा नाकाबाट भारत प्रवेशमा रोक

२०८२ भदौ २५, ०४:५० कमल सावद

धनगढी : नेपालीलाई भारत प्रवेशमा रोक लगाइएको छ। कैलालीको धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा सीमा नाकाबाट भारत प्रवेशमा बुधवार पूर्ण रूपमा रोक लगाइएको हो।

नेपालमा सोमवार र मङ्गलवार भएको जेन–जी समूहको आन्दोलनका कारण सरकार विहीन रहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरूले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएका हुन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालीलाई भारत प्रवेशमा रोक लगाउनुको कारणका विषयमा प्रतिक्रिया दिन मानेनन्। तर, कैलाली–कञ्चनपुरसहित नेपालका कारागारहरूबाट कैदीबन्दीहरू फरार भएकाले उनीहरू भारत प्रवेश गर्न सक्ने भन्दै सीमामा कडाइ गरिएको बुझिएको छ। नेपालका कारागारहरूबाट ठुलो सङ्ख्यामा कैदीबन्दीहरू फरार भएका र उनीहरू भारत पस्न सक्ने भन्दै भारतीय सीमा सुरक्षा बलले नेपालीहरूलाई भारत प्रवेशमा रोक लगाएको छ। धनगढीका प्रकाश मडैले भारतमा हुने भाषा परीक्षाका लागि दिल्ली जानुपर्ने भएपनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको बताए। उनले भने, ‘मसँग भारतको आधारकाड छैन। भारत प्रवेश गर्न आधारकार्ड चाहियो भन्यो। दिल्लीबाट भाषा परीक्षाको फारम भरेको थिए। तर, परीक्षा दिन जान सक्ने अवस्था भएन। एक वर्षसम्म भाषा पढेको हो। देशमा सरकार छैन्। कोलाई के भनौ ?’

उनीसँग भारतको दिल्लीमा तीन दिनपछि हुने जापनीज भाषाको परिक्षा दिनका लागि तयारी गरेर गौरीफन्टा सीमा नाकामा पुगेकाहरू फर्किएका छन्। भारतमा औषधी उपचारका लागि नियमित जानेहरू पनि फर्किएका छन्। भारतमा काम गर्दै आएकाहरूसँगै दैनिक किनमेलका लागि भारतीय बजारसम्म जाने नेपालीहरूलाई समेत रोक लगाइएको हो। तर, भारतीय आधार कार्ड र रासन कार्ड भएकाहरूलाई भने पूर्ण रूपमा चेकजाँच गरेर भारतीय सुरक्षाकर्मीहरूले भारत प्रवेश गर्न दिने गरेका छन्।

नेपालीहरूलाई माथिको आदेश भन्दै भारत प्रदेशमा भारतीय सुरक्षाकर्मीहरूले रोक लगाउने गरेका हुन्। भारतबाट नेपाल प्रवेशका लागि समेत कडा सुरक्षा र चेकजाँच गर्ने गरिएको छ।

 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस