रासायनिक मलको प्रयोग बढ्दै गएपछि माटोको उर्वराशक्तिमा ह्रास आउँदै
सुदूरपश्चिममा रासायनिक मलको प्रयोग बढ्दै गएपछि माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको छ। आवश्यकता भन्दा बढी रासायनिक मलको प्रयोग हुन थालेपछि माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको हो। यो संगै जैविक मलको उत्पादन पनि पर्याप्त मात्रामा हुन नसक्दा कृषि उत्पादकत्वमा समेत बृद्धि हुन सकेको छैन्। स्थानीय किसानले वस्तुभाउ पाल्न छोडेपछि जैविक मलको उत्पादनमा कमी आएको हो। आधुनिक कृषि प्रविधिका काणरले पनि जैविक मल उत्पादन हुन नसकेको कृषि विज्ञहरुले नै बताएका छन्।
स्थानीय किसानले गाईवस्तु पाल्न छोडेसंगै रसायिनिक मलको प्रयोग बढ्दै गएको छ। जैविक मलले माटोको उर्वराशक्ति बढाउने त्यहाँबाट उत्पादन हुने कृषि उपजले मानव स्वास्थ्यलाई समेत फाईदा गर्ने भएपनि त्यस तर्फ ध्यान जान नसकेको क्षेत्रिय कृषि अनुसन्धान केन्द्र दिपायलका प्राविधिक अधिकृत विष्णु जोशीले बताए। स्थानीय किसानले गाईवस्तु पाल्नुको सट्टा सडकमा छाडा छोड्न थालेपछि मल उत्पादनमा कमी आएको हो।
विभिन्न सरकारी निकाय संगै संघ–संस्थाले पनि आधुनिक कृषि औजारहरु वितरणमा बढी प्रथमिकता दिदा जैविक मल उत्पादनमा किसानले ध्यान नदिएका हुन्। स्थानीय तथा प्रदेश सरकारले पनि यसमा गतिलो कदम चालेको देखिएको छैन्। रसायनिक मलको प्रयोग आवश्यकता भन्दा बढी हुन थालेपछि केमिकल युक्त खानेकुरा उत्पादन भएर यसले मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पारिरहेको छ भने माटोको उर्वरा शक्तीमा समेत ह्रास आईरहेको सुदूरपश्चिम प्रदेशमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।
रसायनिक मल विदेशबाट आयात गर्नुपर्ने भएपनि आवश्यक मात्रामा किसानले पाउन सकेका छैनन्। जैविक मल प्रङ्गारिक मल, हरियो मल, गोठे मलको प्रयोग गर्न सके आयातित मलको प्रयोग घट्ने छ भने रासायनिक मल नपाएर खेत बाँझै राख्नुपर्ने समस्याबाट पनि छुटकारा पाईने छ।