किसानहरुले दुधको बक्यौत रकम पाउनुपर्छ : शाह
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुग्ध किसानहरूले बक्यौता भुक्तानी पाउनु पर्ने बताएका छन्।
सुदूरपश्चिमका विभिन्न दुग्ध सहकारी संस्था र किसानहरूले माघ २०८१ देखि हालसम्मको दुध विक्रीको बक्यौता रकम भुक्तानी हुन नसकेको भन्दै संयुक्त ज्ञापन पत्र बुझाउन पुगेको टोलिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजना, अत्तरिया कैलालीलाई निरन्तर दूध आपूर्ति गर्दै आएका किसान र सहकारी संस्थाहरूले बक्यौता रकम नपाउँदा तरलताको समस्या उत्पन्न भई किसानहरू चिन्तित भएकाले मुख्यमन्त्री शाहले बक्यौता भुक्तानीको व्यवस्था मिलाउन पहल गर्ने बताए। “माघ २०८१ यता दुधको बिक्री रकम नपाउँदा सहकारीहरूले किसानलाई भुक्तानी दिन नसक्ने स्थिति आएको छ। ज्ञापन पत्रमा भनिएको छ, पटक–पटक रकम उपलब्ध गराउन अनुरोध गर्दा समेत हाल आयोजना प्रशासनिक तथा आर्थिक कक्ष ताला बन्द रहेको कारण रकम भुक्तानी हुन सकेको छैन।”
ज्ञापन पत्रमा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य भरत बहादुर बिष्ट, पूर्व सञ्चालक सदस्य नन्दलाल भट्टसहित कञ्चनपुर र कैलालीका करिब दुई दर्जन सहकारी तथा दुग्ध उत्पादन फर्महरूले हस्ताक्षर गरेका छन्।
सहकारीहरूले दुधको बक्यौता रकम तत्काल भुक्तानी हुने व्यवस्था मिलाइदिन प्रदेश सरकारसँग माग गरेका छन्।