सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका स्थानीयलाई काठे पुलमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

२०८२ भदौ २२, ०४:२१ खबर संवाददाता

धनगढी: बाजुराका अधिकाशं स्थानीय काठेपुलमा जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्। यहाँका स्थानीयलाई ठुला खोलामा झोलुङ्गे पुलको साहाराले आउजाउ गर्न सहज भए पनि ससाना खोलामा पक्की पुलको व्यवस्था नहुँदा वर्खाको समय उनीहरूलाई काठेपुलको जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको त्यहाँका स्थानीयले बताएका छन्।  

अहिले यहाँका सबै गाउँ बस्तीमा सडक पुगेका छन्। ती सडकको बिचमा पर्ने खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँ राखेका काठेपुलमा जोखिम पूर्ण यात्रा गर्नुपरेको खप्तड छेडेदह गाउँपालिका–३ जकन विकले बताए। 
“गाउँमा रहेका खहरे खोला तर्नका लागि सहज हुने गरी स्थानीय तहले केही रकम दिने गर्छ” उनले भने, “त्यो रकमले यहाँका स्थानीय त्यहाँ काठेपुल निर्माण गर्दछन्।” काठेपुलमा स्थानीयलाई आउजाउमा सहज हुने गरेको भएपनि सवारी साधनमा ज्यान जोखिम राखेर वारपार गर्नुपरेको विकले बताए। 

पुडाबाउला हुँदै डोगडी सम्मको सडकको बिचमा धेरै खोला छन्। ती खोलामा हिउँदको समय गाडी राम्रो सँग गुड्ने गर्छन। तर वर्खाको समय भने  त्यहाँ पक्की पुल नहुँदा समस्या हुन्छ। यही समस्या समाधानका लागि हामीले सडक डिभिजिन कार्यालय अछामलाई जानकारी गराएको र उतादेखि पुल हाल्ने गरी यो वर्ष ती खोलामा सर्भे गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका–२ का वडाध्यक्ष बीर्कबहादुर रावतले बताए। 

यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका स्थानीय तहका विभिन्न खोलामा पक्की पुल नहुँदा वर्षाको समय त्यहाँका स्थानीयलाई आउजाउमा समस्या हुने गरेको छ।

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी सुवाष साहले स्थानीया खोलामा पुल बनाउन बजेटको व्यवस्था नभएको बताए।  “हामीले राजमार्गमा मात्र काम गर्छौं, ग्रामिण क्षेत्रमा काम गर्दैनौ हामीसँग त्यसका लागि रकम पनि आउँदैन,” उनले भने।

कमेन्ट लोड गर्नुस