सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ‘खुल्ला सीमानाका कारण अवैध बाटोबाट मानव तस्करी हुँदैछ’

२०८२ भदौ १८, ०६:५७ खबर संवाददाता

धनगढी : कैलालीमा खुल्ला सीमानाका कारण अवैध बाटोबाट मानव तस्करी हुँदै आएको बताइएको छ।

जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीकाकुमारी चौधरी (भुल)ले नेपाल–भारत खुल्ला सीमानाका कारण अवैध बाटोबाट मानव तस्करी हुने गरेको बताएकी हुन्।

मानव बेचबिखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श कार्यक्रममा उनले सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी भएपनि अवैध बाटोबाट मानव तस्करी नरोकिएको बताएकी हुन्। उनले आफ्नो नेपाल–भारत सीमा क्षेत्रमा बसोबास रहेको बताउदै मानव तस्करी रोक्न नसकिएको बताएकी हुन्। उनले भनिन्, ‘वैध सीमामा प्रशासन छ। तर, अवैध बाटोबाट मानव तस्करी हुने गरेको छ। हामी सीमा क्षेत्रका मान्छे हो।’

वर्तमान मानव बेचबिखनको अवस्था र अब रोक्नको लागि अपनाउनु पर्ने संयन्त्रबारे राष्ट्रिय मानव अधिकार आयोगले धनगढीमा बुधवार परामर्श कार्यक्रमको आयोजना गरेको हो। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानव बेचबिखनको प्रतिवेदन तयार गर्दै छ। सोही अवसरमा कार्यक्रमको आयोजना गरिएको आयोगकी सदस्य डा.लीली थापाले बताएकी छन्। उनले नेपालमा मानव बेचबिखन नरोकिएकाले अन्तरराष्ट्रिय क्षेत्रमा बदनाम भएको बताएकी छन्।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिहँ सार्कीले मानव बेचबिखन रोक्न स्थानीय सरकार, सङ्घीय सरकार र विभिन्न संघ संस्थाहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले खुल्ला सीमानाका कारण मानव बेचबिखन पूर्ण रूपमा रोक्न समस्या भएको बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश दत्त भट्ट, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक डम्बर बहादुर विश्वकर्माको कार्यक्रममा सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस