सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले काम नभएका योजनामा भुक्तानी दिएको खुलासा

२०७६ साउन ११, ०१:०२ कमल सावद

जाखोर बाबा शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ रानाले मन्दिरको दक्षिणतर्फको पर्खाल प्रदेश सरकारको एक लाख बजेटले निर्माण गरिएको बताए। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजना मार्फत मन्दिरको पर्खाल निर्माण गरेको उनले जनाए। उनले भने, ‘प्रदेश सरकारले एक लाख मन्दिर मर्मत तथा पर्खाल निर्माणका लागि दिएको थियो। हामीले शिव मन्दिरको दक्षिण तिर पर्खाल बनाएका छौँ, एक लाख पूर्ण खर्च भएको हो।’
जाखोर बाबा शिव मन्दिर पुनःनिर्माणको योजनाबाट मन्दिरको पर्खाल निर्माण गरेको रानाले दावी गरेका बेला मन्दिरको पर्खाल दुई वर्ष पहिले नै उप–महानगरपालिकाको बजेटमा निर्माण भएको तथ्य बाहिरिएको छ। ५० मिटर पनि लम्बाई नभएको पर्खाल उप–महानगरपालिकाको लागतमा निर्माण भएको बुझिएको छ। तर प्रदेश सरकारले उप–महानगरपालिकाले बनाएको पर्खाल देखाएर एक लाख भुक्तानी दिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिताराम रानाले दुई वर्ष पहिले नै पर्खाल निर्माण गरिएको बताए। उनले उप–महानगरपालिकाको रकमबाट मन्दिर निर्माण गरिएको बताए। प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र कायान्वयनका योजनाहरुमा काम विना भुक्तानी भएको पाईएको हो। 
मन्त्रालयले कैलाली जिल्लामा गत आर्थिक वर्षमा उक्त कार्यक्रम अन्तरगत एक सय ५७ मठ–मन्दिर, धर्मशाला लगायत निर्माणका लागि बजेट विनियोजन गरेको थियो। एक सय ५७ योजनामा अधिकांस योजनामा कम काम बढि भुक्तानी दिइएको छ।  
कतिपय स्थानमा त काम नै नगरी भुक्तानी दिईएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ७ जाखोर ताल क्षेत्रमा रहेको जाखोर बाबा शिव मन्दिरको काम विना भुक्तानी दिइएको हो।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रलायले कतिपय स्थानमा काम नहुँदै भुक्तानी दिएको देखिएको छ। कतिपय स्थानमा कम काम भएर बढि भुक्तानी दिएको देखिएको छ। यस्तै कैलालीमा सय बढि मन्दिरका योजना रहेकोमा एउटा पनि मन्दिरको निर्माण भने पूर्ण भएको छैन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा पर्ने शिवपुरी धाम क्षेत्रमा मन्दिर मर्मत तथा घेरबार शिर्षकमा मन्त्रालयले चार लाख ५० हजार रकम विनियोजन गरेको थियो। तर योग साधन हलको भिात निर्माण थालिएको थियो। पूर्ण भएको छैन्। निर्माण समितिका उपाध्यक्ष नरेशबहादुर शाहीले पूर्ण वजेट खर्च गर्न नसकिएको बताए। चार लाख ५० हजार भनिएकोमा चार लाख ३८ हजार आएको थियो।  उनले दुई लाख २८ हजार मात्रको मात्र काम भएको बताए। 
मन्त्रालयलले उप–महानगरपालिकाको वडा नम्बर ८ मा पर्ने नवदुर्गा अनुष्ठान केन्द्रको विकास तथा पर्खाल निर्माणका लागि ६ लाख विनियोजन गरेको थियो। गत आर्थिक वर्ष २०७५÷०७६ मा विनियोजन भएको छ लाख बाट एक सय १० मिटर लम्बाईको पर्खाल निर्माण गरिएको दावी केन्द्रकोे छ। केन्द्रको सुरक्षाका लागि निर्माण गरिएको पर्खाल टुक्राटाक्रे छ। तर पूर्ण भुक्तानी भएको समितिले बताएको छ। पर्खाल निर्माणमा सक्रिय एकजना केन्द्रका कार्यसमिति सदस्य पारसराज जोशीले एक सय १० मिटर पर्खाल निर्माण गरिएको बताए। उनले भने, ‘समय कम भएकाले पर्खाल निर्माणमा हामीले कामदारको प्रयोग गरेका थियौ। रुख र नदीका कारण केहि समस्या भएपछि बिचमा छुटेको हो। तर समय ६ लाख खर्च भएको छ।’  
प्रदेश सरकारले गत आर्थिक वर्षमा मन्दिर निर्माणका लागि मात्रै झण्डै ३० करोड बजेट विनियोजन गरेको थियो। तर मन्दिरहरुको निर्माण भने अधुरै रहेपछि फेरी पनि मन्त्रालयले तिनै मन्दिर निर्माणका नाममा बजेट विनियोजन गर्दै दुरुपयोग त गर्ने होईन भन्ने आशंका बढेको छ। 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस