धनगढीमा सबै वडामा ग्रासरुट फुटबल विस्तार हुने, ५ हजार बालबालिकालाई प्रशिक्षण दिने लक्ष्य
धनगढी: धनगढी उपमहानगरपालिकाले यो वर्ष ग्रासरुट स्तरीय फुटबल कार्यक्रम थप विस्तार गर्ने भएको छ।
गत वर्ष चार विद्यालयबाट सुरू गरिएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यो वर्षदेखि १९ वटै वडामा विस्तार हुने भएको हो। धनगढी उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत वडाको कम्तिमा एक स्थानमा बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिइनेछ। बालबालिकालाई पढाइसँगै खेलकुदमा समेत संलग्न बनाउन ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरिएको हो। गत वर्षदेखि ग्रासरुट स्तरीय फुटबलमा प्रशिक्षण लिइरहेका बालबालिकाले फुटबल खेल्न पाएकोमा धनगढी- १६ का आर्यन सुनारले बताए।
गत वर्ष धनगढीका तीन वडामा सुरू भएको ग्रासरुट स्तरीय फुटबल कार्यक्रम यो वर्षबाट उपमहानगरको सम्पूर्ण वडामा विस्तार गर्ने उपमहानगरले जनाएको छ। धनगढी उपमहानगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार यो वर्ष कात्तिक १५ गतेबाट सम्पूर्ण वडामा ग्रासरुट स्तरीय फुटबल सुरू हुनेछ। धनगढी उपमहानगरपालिकाले २१ वटा फुटबल मैदान तयार गरेर ग्रासरुट स्तरीय फुटबल प्रशिक्षण दिने भएको छ। धनगढीको विभिन्न स्थानमा १७ वटा फुटबल मैदान तयार भइसकेका छन् भने बाँकी चार खेलमैदान निर्माणको चरणमा रहेको खेलकुद शाखा प्रमुख केशव खत्रीले बताए। "धनगढी उपमहानगरपालिकाले ग्रासरुट फुटबल र क्रीकेट सुरू गरेको छ। फुटबल खेल्न २१ वटा खेलमैदान बन्नेछन्। १७ वटा तयार भएका छन् भने चार खेलमैदान निर्माण भइरहेका छन्," खत्रीले बताए।
गत वर्ष धनगढी- ७ को राष्ट्रिय माध्यमिक विद्यालय,पटेला वडा नम्बर ११ को दक्षिणकाली बहिरा आधारभूत विद्यालय र ठेकराज माध्यमिक विद्यालय तथा वडा नम्बर १८ को चन्द्रोदय माध्यमिक विद्यालयमा ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू भएको हो। फुटबल प्रशिकको प्रत्यक्ष निर्देशनमा फुटबल खेल्न पाउँदाको बालबालिकाले खुशी व्यक्त गरेका छन्।
प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उपमहानगरले ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरेको जनाएको छ । कार्यक्रममा विद्यालय उमेरका बालबालिकाहरूलाई फुटबल खेल सम्बन्धी प्रविधिक र सैद्धान्तिक ज्ञान समेत दिइने छ। खेलमैदान रहेको क्षेत्रका फुटबल खेल्न इच्छुक सम्पूर्ण बालबालिकालाई प्रशिक्षण दिइने छ। ग्रासरुट स्तरीय फुटबल सुरू भएपछि गाउँका केटी मान्छेहरूलाई पनि फुटबल खेल्ने अवसर मिलेको धनगढी-१६ घसिटाकी विनितकुमारी विकेले बताइन्। "हामी गाउँका केटी मान्छेहरूलाई इच्छा हुँदाहुँदै पनि फुटबल खेल्ने अवसर मिलेको थिएन। अहिले म र मजस्तै अन्य केटी साथीहरूले फुटबल सिकिरहेका छौँ," उनले भनिन्, "धनगढी उपमहानगरपालिकाले गाउँमै बसरे फुटबल खेल्ने अवसर दिएको छ। हामी धेरै खुसी छौँ।"
धनगढी उपमहानगरपालिकाले ग्रासरुट स्तरीय फुटबल कार्यक्रम सुरू गरेपछि ग्रामीण क्षेत्रका बालबालिकाले फुटेको फुटबल खेल्नुपर्ने बाध्यता हटेको छ। अहिले भने नयाँ फुटबल, सुधारिएको खेलमैदानमा प्रशिक्षको निर्देशनमा खेल्न पाउँदा मेहनत गरेर सफल खेलाडी बन्ने सपना देख्न थालेको जीवन थापा मगरले बताए। "पहिले फुटेको फुटबल खेल्नुपर्थ्यो। अहिले नयाँ फुटबल र खेल सामग्री पाएका छौँ," उनले भने, "पहिले उत्तिकै खेल्थ्यौँ भने अहिले कोचले खेल्ने टेक्निक पनि सिकाउनु हुन्छ। मेहनत गरेर राम्रो खेलाडी बन्छु भन्ने आशा पलाएको छ।"
धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरेर प्रशिक्षणको जिम्मा दिएको छ। कात्तिक १५ गतेबाट धनगढीका १९ वटै वडामा एकसाथ फुटबल प्रशिक्षण सुरू हुनेछ। यो वर्ष करिब पाँच हजार बालबालिकालाई फुटबल प्रशिक्षण दिने लक्ष्य राखिएको छ।