कञ्चनपुरको कृष्णपुरमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ अन्तर्गत दोमिल्ला बस्तीमा जङ्गली हात्तीको बथान पसेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
करिब दुई दर्जनको सङ्ख्यामा रहेका हात्तीहरू बस्तीमा पसेर घर भत्काउने, अन्न नष्ट गर्ने र धानबालीमा क्षति पु¥याउने क्रम बढेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य भएका छन्। स्थानीय अम्बदत्त भट्टका अनुसार हात्तीहरू दैनिकजसो बस्तीमा पसेर घर तथा खेतीबालीमा क्षति पु¥याउन थालेका छन्।
“हात्ती घर आँगनमै आउन थालेपछि पालो मिलाएर रातभर कुर्नुपर्ने बाध्यता छ,”उनले भने, “धानबालीमा त ठूलै क्षति भएको छ।” अर्का स्थानीय गणेशप्रसाद भट्टले आफैँ घरभित्र हुँदा हात्तीको बथानले घर भत्काएको अनुभव सुनाए, “हात्तीले घरभित्र राखिएको अन्न, लुगाफाटा लगायतका सामग्रीसमेत नष्ट गरेको छ।” उनले भने।
हात्तीले धानबालीसँगै सामुदायिक वन क्षेत्रमा लगाइएको अम्रिसो खेती र नेपियर घाँससमेत खाएर सखाप पारेको स्थानीय मदन नेपालीले बताए। उनले सम्बन्धित निकायले समस्या समाधानमा चासो नदेखाएको गुनासो गरे। “हात्ती नियन्त्रणका लागि अहिलेसम्म कुनै ठोस पहल भएको छैन,” उनले भने। वडाध्यक्ष मोहन बहादुर बस्नेतका अनुसार हालसम्म हात्तीले कम्तीमा तीनवटा घर भत्काइसकेको छ भने बालीमा पनि ठूलो क्षति पुगेको छ।
उनका अनुसार बथान भारतको दुधुवा नेशनल पार्कबाट आएको हुनसक्छ। “दुधुवा क्षेत्रमा पानी जमेकाले उँचो स्थान खोज्दै हात्ती यहाँ पसेको अनुमान छ,” उनले भने। वर्षेनि हात्तीले यस क्षेत्रमा यस्तैगरी क्षति पु¥याउने गरेकाले गाउँलेहरू मिलेर आगो बाल्ने, होहल्ला गर्ने र पटाका पड्काएर धपाउने प्रयास गर्दै आएका छन्। प्रशासनले पटाका उपलब्ध गराएको भए पनि त्यसले दीर्घकालीन समाधान दिन नसकेको वडाध्यक्ष बस्नेत बताउँछन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको कञ्चनपुरमा कृष्णपुर नगरपालिका सँगै शुक्लाफाँटा, दोधारा चाँदनी, बेल्डाडी लगायतका क्षेत्रमा जङ्गली हात्तीले बर्सेनि मानवीय र भौतिक क्षति पु¥याउने क्रम बढ्दै गएको छ। यसपटक पनि दोमिल्लामा हात्तीको प्रवेशले फेरि एकपटक मानव–वन्यजन्तु द्वन्द्व चर्किएको छ।