इँटा व्यवसायीका समस्याप्रति सरकार बेखबर
कञ्चनपुरः सुदूरपश्चिम प्रदेशका इँटा व्यवसायीहरूले सरकार आफूहरूका समस्या प्रति बेखबर रहेको आरोप लगाएका छन्।
सोमवार पुनर्वास उद्योग वाणिज्य सङ्घ कञ्चनपुरमा नेपाल इँटा उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन तथा साधारण सभामा बोल्दै इँटा व्यवसायीहरूले यस्तो बताएका हुन्। नेपाल इँटा उद्योग महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष बलदेव सिंह बुडालले उद्योगीहरूलाई लगानी गर्न सरकारले सहयोग उपलब्ध नगराउँदा कयौँ उद्योगीहरू पलायन हुनुपर्ने अवस्था रहेको बताए।
केही वर्षयतादेखि सरकारले स्वदेशमै काम गरिरहेका युवाहरूलाई विदेश पठाउन सुरु गरेपछि व्यवसाय झन् धराशायी बन्दै गएको उनले बताए। अहिले ८० प्रतिशत युवाहरू भारतबाट कामका लागी मगाउनुपर्ने अवस्था रहेको उनले बताए। “यहाँका युवाहरू अध्ययन गर्न भन्दै विदेश जाने गरेका छन्” उनले भने, “सरकारले अध्ययन गर्न उनीहरूलाई सहयोग गर्ने गरेको छ,तर उद्योगीहरूलाई कुनै सहयोग गरेको छैन।”
पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले राज्यको नीतिमा परेको फरकका कारण इँटा उद्योगहरू धराशायी बन्दै गएको बताए। पुनर्वासमा १७/१८ इँटा उद्योग रहेकोमा हाल ६/७ मात्रै उद्योग रहेकाले पलायन हुँदै गएका व्यवसायीहरूलाई सरकारले पुन लयमा फर्काउन उचित कदम चाल्नुपर्नेमा जोड दिए।
नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रजापतिले इँटा उद्योगीलाई बैंकहरूले समेत लखेट्ने काम गरेको भन्दै आपत्ति जनाए। उद्योगीलाई समस्या पर्दा सहुलियत उपलब्ध गराउनुपर्नेमा उल्टै झन्झटिलो व्यवस्थाले इँटा उद्योगीलाई मारमा पार्ने काम गरिएको उनले बताए। एकातिर इँटा उद्योगीहरूको बिमा समेत नगरिँदा राज्यले झन् अन्याय गरेको उनले बताए।