टीकापुर घटनाको एक दशक, थरुहट मुद्दा ओझेलमा
धनगढी: टीकापुर घटना घटेको एक दशक पूरा भएको छ।
नेपालको संविधान लेखनको समयमा २०७२ भदौ ७ गते आजैको दिन थरुहट आन्दोलनकारी र प्रहरीबिच टीकापुरमा दोहोरो झडप भएको थियो।
टीकापुरमा भएको झडपमा एक नाबालकसहित आठ जनाको ज्यान गएको थियो। टीकापुर तनावपूर्ण भएपछि कफ्र्यू जारी भएको थियो। नेपाली सेना परिचालन गरिएको थियो। भोलिपल्ट भदौ ८ गते कफ्र्युका बीच सेना र प्रहरीकै उपस्थितिमा थारू समुदायका घर, पसल, एफएमलगायत ८३ बढी संरचनामाथि आगजनी भएको थियो। थरुहट भूगोल मागको थरुहट आन्दोलन र ‘टीकापुर घटना’ आज पनि सबैको मानसपटलमा आलो घाउ जस्तै बगीरहेको छ।
सुदूरपश्चिममा अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन उत्कर्षमा रहेका बेला टीकापुर घटना भएको हो। अखण्ड पक्षधरको माग मौजुदा सुदूरपश्चिामञ्चल विकास क्षेत्रलाई प्रदेश बनाइनुपर्ने र थरुहट पक्षधरको माग थारू बाहुल क्षेत्रलाई थरुहट बनाइनुपर्ने रहेको थियो।
कैलाली र कञ्चनपुरसहितको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सुदूरपश्चिम प्रदेश, बाँके, बर्दियासहित लुम्बिनी प्रदेश कायम गरिएको छ। तर, टीकापुर घटनापछि कानुनी उल्झनमा जकडिएका थरुहट आन्दोलनकारीहरू आज पनि आफ्ना माग मुद्दा राज्यले सुनुवाइ नगरेको भन्दै विद्रोह दिवस मनाएका छन्।