जीवनसाथी गुमाउँदाको पीडाः जे भोगे, त्यहीँ लेखे
ऋतु ओझाः जीवनसाथी (श्रीमान) गुमाउँदाको पीडाले आज यो मन निकै दुखिरहेको छ।
यो पीडाले मनमा गहिरो घाउ बल्झिएको छ। मन छिया–छिया भएको छ। जीवनभर नबिर्सने, मनमा गहिरो घाउ बनेको छ। घर्केको बिगतले यो मन हरपल रोइरहेको छ। २८ वर्षको कलिलो उमेरमा अल्पायुमै श्रीमान गुमाउँदाको यो अकल्पनीय घटनाले आज मेरो मन क्षत–विक्षत भएको छ। आ–आफ्नो कार्य व्यस्तताले हामी भौतिक रूपमा टाढा भएको लगभग एक वर्ष पुग्नै आँटेको थियो। बैशाख १५ गते घरमा भतिजीको विवाह हुने तयारी थियो।
भतिजीले सानै उमेरमा अर्थात् २ वर्षकै उमेरमा जन्म दिने आमा गुमाएकी थिइन्। हजुर आमा र हजुर बुवाले हुर्काएकी भतिजी, भतिज, देवर बाबु, सासू आमा अनि मेरो परिवार गरेर हामी ६ जनाको परिवारसँगै बस्थ्यौँ। तर, कार्य व्यस्तताले हामी टाढा थियौँ। घरमा आमा र भतिजी मात्रै थिए। घरमा विवाह हुने भएकाले साथमा केही सानो उपहार अनि मनभरि खुसी बोकेर म पनि बैशाख १४ गते घर जाने तयारीमा थिएँ। तर, अपसोच, समयले अर्कै मोड लिइसकेको रहेछ। बैशाख १२ गते साँझ त हामी श्रीमान–श्रीमतीबिच कुरा भएको थियो।
तर, विडम्बना, मलाई एक्कासि उहाँलाई चोट पटक लागेको खबर आयो। त्यो शब्द सुन्नासाथ म आकाशबाट खसेझैँ भएँ। “अचानक यस्तो कसरी भयो?” भन्ने प्रश्नले मलाई आक्रान्त बनायो। त्यस बेला उपचार बाहेक अरू केही सोच्न सकिन। छिट्टै अस्पताल ल्याइयो। उनी विगत केही महिनादेखि बैतडी अर्थात् गृहजिल्लामा कार्यरत थिए। म भने कामको सिलसिलामा धनगढीमा थिएँ। चोटपटक लागेको खबर परिवारलाई पहिले नै थाहा भएको रहेछ। कान्छो भाइ पनि उतै भएकाले भाइले मलाई खबर ग¥यो। तर, घटना के–कसरी भयो भन्ने भने कसैलाई थाहा थिएन।
अस्पतालको पीडा
धनगढीको सेती प्रादेशिक अस्पतालमा उहाँलाई ल्याइयो।म पनि त्यहीँ थिएँ। तर, राति अस्पताल पुग्न सकिन, बिहानको पर्खाइमा थिएँ। बिहान पुगेँ, भेटेँ। उहाँको अवस्था गम्भीर थियो। अलि–अलि बोलिराख्नुभएको थियो। तर, स्पष्ट बोलेको बुझ्न सकिन। डाक्टरको सल्लाह अनुसार काठमाडौँ एपीएफ हस्पिटल लगियो। मलाई आशा थियो–कसरी भए पनि निको हुन्छ भन्ने। तर, अवस्था बिग्रँदै गयो। टाउकोमा चोट भएकाले शल्यक्रिया गर्नुपर्ने भयो। शल्यक्रिया भयो, तर मेरो श्रीमान् चार दिनसम्म होसमा आउनुभएन। त्यतिबेला मेरो मनमा निराशा छाइरहेको थियो।
मेरा चाहना, प्रार्थना, आशा–सबै असफल भए। भाग्यमै अधुरो साथ लेखिएको रहेछ। मैले चाहेर पनि रोक्न सकिनँ। र, नचाहँदै पनि उहाँलाई सदाका लागि गुमाउन पुगेँ। मेरो श्रीमान्ले अस्पतालको शय्यामै प्राण त्यागे। उहाँलाई बचाउने डाक्टरको प्रयास र मेरो प्रार्थनाले काम गर्न सकेन। मेरो जीवनको सहयात्री, मेरो बच्चाको पिता र हाम्रो परिवारको भरोसा क्षणभरमै ढल्यो। त्यो दिन मेरो जीवनकै सबैभन्दा कालो र पीडादायी दिन थियो।
मानसिक पीडा
श्रीमान् गुमाउँदाको पीडाले म मानसिक रूपमा कमजोर भइसकेकी थिएँ। बाँच्न पनि मन थिएन। शुभचिन्तकले सम्झाए, सान्त्वना दिए। छोराको अनुहार सम्झिए। ७ वर्षको निर्दोष छोराले “बाबा” गुमाएको थियो। मैले सोचे बाबुलाई मैले हुर्काउनै पर्छ। पीडाले भतभती पोलिरहेको थियो। सम्हालिने प्रयास गरेँ। मेरो ७२ वर्षकी वृद्ध सासू आमाले छोरा गुमाउनुभएको थियो। उहाँको रुग्ण अवस्था सम्झिए। देवर बाबुले जीवनभर साथ र हौसला दिने दाइ गुमाएका थिए। सबैको अनुहार सम्झिए, सबैले मलाई सम्झाउने प्रयास गरे र पीडाले छिया–छिया भएको मन, अनिदो र भोकले रुग्ण भएको तनलाई सम्हालेर मैले बाच्ने निर्णय गरेँ।
अस्पताल भित्रको यथार्थ दर्दनाक पीडा
सेती अस्पताल धनगढीबाट थप उपचारका लागि मेरो श्रीमान्लाई काठमाडौँ बलम्बुस्थित एपीएफ अस्पतालमा लगिएको थियो।त्यहाँ करिब एक महिना उपचार भयो। अचेत श्रीमान्को कुरुवा भएर बस्नुपर्ने त्यो समय मेरालागी निकै दर्दनाक थियो। औषधी–उपचार दिन–रात चिलरह्यो, त्यैपनि मेरो श्रीमान् आँखा खोलेर हेर्न र ओठ खोलेर अन्तिम शब्दसमेत बोल्न नपाएरै संसारबाट बिदा लिन पुगे।
अस्पताल बसाइको क्रममा लाग्थ्यो, आज भन्दा भोलि, भोलि भन्दा पर्सि ठिक हुन्छ होला। तर त्यो आशा अन्ततः पशुपति आर्यघाटमा खरानी बनेर बिलाउन पुग्यो। अस्पतालभित्रको वातावरण बिर्सनै नसकिने थियो।
हजारौँ बिरामी जीवन–मृत्युको सङ्घर्षमा थिए। कतै करुण पुकार, कतै प्रार्थना, कतै आँसु। बिहान उठ्दा जहिल्यै मान्छेहरुकोे भिडभाड देखिन्थ्यो,खपिनसक्नुु दर्दनाक पिडाले अस्पतालको बेडमा बिरामी छटपटाइरहन्थे भने मलिन अनुहार लिइ औषधि लिन बिरामीका कुरुवाहरू लाइन बसेका हुन्थे। कोहि बिरामी डाक्टरको अगाडी हात जोड्दै मलाई बचाइदिनुहोस्। म बाँच्न चाहन्छु, म बिना मेरो परिवार एक्लो हुन्छ, जस्ता शब्दहरू सुनिन्थे। कोही जीवनको अन्तिम मोडमा थिए, कोही नवजात शिशु पाउन आमा ज्यान दाउमा राखिरहेकी। कोही बुबा छोराछोरीको उपचार खर्च जुटाउन ऋण बोकेर हिँडिरहेका। हरेकका अनुहार मलिन र वेदनायुक्त देखिन्थे। अस्पतालमा बिरामीहरूको आर्तनाद र तिनका आफन्तहरूका अश्रुपूर्ण नयनले हरेक व्यक्ति कायल हुने अवस्था थियो।
छोराको शब्दले निःशब्द बनायो
श्रीमानले प्राण त्यागेपछि अन्तिम गन्तव्य अन्ततः पशुपति आर्यघाट नै थियो। हाम्रो संस्कार अनुसार अन्तिम संस्कार भइरहेको थियो। मेरो सात वर्षको छोराले अबोध प्रश्न सोध्यो “मामु बाबालाई किन यस्तै गर्दै छन? अब के हुन्छ?” त्यो प्रश्नले मलाई निःशब्द बनायो। भक्कानो फुट्यो, चीत्कार दबाएर म मौन बसे।
पशुपतिमा देखेको यथार्थ
पशुपति नेपालकै प्रसिद्ध धार्मिक स्थल हो।त्यहाँ दैनिक हजारौँ मान्छे पुग्छन्। त्यो दिन कसैको हातमा पूजा गर्न फूल–माला थियो, कसैको हातमा अन्त्येष्टिका लागि। एउटै बोटमा फुलेको फूल—कोही मन्दिर पुग्छ, कोही आर्यघाटको चितामा। त्यो दिन मैले पनि आफ्नै जीवनसाथीलाई अन्तिम बिदाइ दिँदै देखेँ–कोही हाँस्दै, रमाउँदै भगवानको दर्शन गर्न हिँडेको, कोही रुँदै आफ्ना प्रियजन अन्तिम बिदाइ गर्दै गरेको। मैले पनि मेरो श्रीमानलाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ अर्पण गरेँ। त्यो क्षण मेरा लागि कहालीलाग्दो थियो। बज्रपातपछि पनि मैले सम्हालिनुको विकल्प थिएन।
आमाको पीडा
जेठ ५ गते घर फर्किँदा मेरो नजर सबैभन्दा अघि सासू आमामा गयो।७२ वर्षकी वृद्ध आमाले आफ्नो बुढेसकालको सहारा छोरा गुमाउनु भएको थियो। आशा निराशामा परिणत भएको थियो। आमाको अनुहारमा पीडा स्पष्ट देखिन्थ्यो। सन्तान गुमाउने आमा भन्दा ठूलो पीडित को हुन्छ र? रात दिन भोक तिर्खा नभनी सन्तानकै लागि दुख गर्नी आमालाई जति पिडा कस्लाइ होला र? आमा शब्द आफैमा महान छ। जसले हामीलाई संसार देखाइन्, गर्भमा राखेर पीडा सहिन् र काखमा राखेर पालन पोषण गरिन्।
निस्वार्थ माया गर्नी आमा जसले बाल्यकालमा हाम्रा इच्छा पूरा गरिन् ती आमालाइ आफ्नो बुढेसकालको शाहरा छोरा गुमाउदाको पिडा, सन्तान प्रतिको त्यो अथाह मायाको बयान गर्ने कुनै शब्द नै छैन।’उहाँले सहन गरिरहनुभएको पीडाबोध मलाई पनि थियो। हाम्रो सिङ्गो परिवार नै असीम पीडाबाट गुज्रेको समय निकै हृदयविदारक थियो। आमाले थोरै भाव व्यक्त गर्नुभो, उहाँले धेरै पीडा आफूभित्रै सामना गर्न खोजेको स्पष्ट देखिन्थ्यो।
आफ्नो पुत्र विहीन पुत्र बधुलाई देख्नु पर्दाको पीडा आमाले सहन गरिरहनु भएको थियो। आमाले पुत्रलाई पितृ भएको हेर्नुपर्ने कठिन परिस्थिति थियो। सासू आमाको त्यो अवस्था देखेर मेरो मुटु हरेक मिनेट छियाछिया हुन्थ्यो। तर, मृत्यु सत्य थियो। आमासँगै हामी सबैले यो यथार्थ स्वीकार गर्नैपर्ने थियो। आमाले पनि शब्दमा नबोले पनि यो यथार्थलाई विस्तारै स्वीकार गर्नुभयो। आफू सम्हालिनु भयो र हामीलाई पनि सम्हालिन ढाडस दिन थाल्नुभयो।
जीवन र सङ्घर्ष
जीवन चुनौती हो।जीवन मिलन र बिछोडको सङ्गम हो। जीवन लामो अग्नि परीक्षा हो। जीवनमा दुःख–पीरले हामीलाई कमजोर मात्रै बनाउँदैन, बलियो पनि बनाउँछ। सुख मात्र भए दुःखको अर्थ थाहा पाइन्न। विफलता नभए सफलता मूल्यवान् लाग्दैन। त्यसैले, जीवनमा आउने प्रत्येक पीडामाथि पनि आशा बोकेर बाँच्नुपर्छ। ढिलो भए पनि सङ्घर्षपछि सफलता अवश्य आउँछ। यही विश्वासमा म आज पनि उभिएकी छु। आफ्नो सात वर्षको छोरो र वृद्ध सासू आमालाई हेरेर मैले यथार्थलाई आत्मसात् गर्ने निर्णय गरेँ। श्रीमानको स्मृति मन र मुटुमा सजाउदै छोराको भविष्य सुखद बनाउने उद्देश्यसहित मैले बलियो भएर जिउने निर्णयमा पुगेँ। भगवानसँग प्रार्थना गर्छुकि मेरो जस्तो बज्रपात कसैको जीवनमा पनि नपरोस् भनेर।