वाचा ३ सय शय्याको, मन्त्री पौडेलले सुटुक्क उद्घाटन गरे १० शय्याको आकस्मिक कक्ष
धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको संघर्ष चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालमा सुटुक्क आकस्मिक कक्ष उद्घाटन गरेका छन्।
बुधबार गेटामा आकस्मिक सेवा उद्घाटन गर्ने तयारी भएको थियो। तर, संघर्ष समितिले ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने वाचा गरेर १० शय्याको मात्रै उद्घाटन गर्न खोजिएको भन्दै विरोध गरेपछि कार्यक्रम स्थगित भएको थियो।
तर, स्थानीयलाई जानकारी नदिई बिहीबार मन्त्री पौडेलले आकस्मिक सेवाको उद्घाटन गरेका हुन्। संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले भने, “गोप्य रूपमा १० शय्याको आकस्मिक सेवा उद्घाटन गरिएको छ। तर हाम्रो माग भने तीन सय शय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु हुनुपर्छ भन्ने छ। माग पूरा नभएसम्म आन्दोलन रोकिँदैन।”
गेटा क्षेत्रमा अहिले पनि करिब ६ अर्ब रुपैयाँभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ, तर अस्पताल अझै ५० शय्यामै सीमित छ। विश्वविद्यालय सञ्चालनमा ढिलाइ हुँदै गर्दा स्थानीयवासी र संघर्ष समितिले बारम्बार सरकारलाई दबाब दिँदै आएका छन्।
संघर्ष समितिका संयोजक पाण्डेले स्वास्थ्य मन्त्रीले ऐन कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा आँखा छलेर आकस्मिक कक्षको रिबन काटेको बताए। उनले तीन सय शय्याको अस्पताल चलाएर तुरुन्त एमबीबीएसको पढाइ सुरू गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।